धनगढी – प्रधानसेनापति प्रभुराम शर्माले महेन्द्रनगरमा निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् । शर्माले शुक्रबार बिहान सेनाको श्री नं २५ बाहिनीनजिकै निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन् ।
फरकखालका सामानहरु प्रयोग गर्दा आर्थिक रुपमा प्रश्न उठन सक्ने बताउँदै उनले निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्सट्रक्सनका प्रमुख गोकर्ण न्यौपानेले काम तोकिएको समयमै सम्पन्न हुने बताएका छन् ।
भिमदत्तनगरपालिकास्थित वडा नं १८ सालघारी क्षेत्रमा १ हजार बेड क्षमताका २० वटा ठूला बेडसहितका संरचना, ५० बेड क्षमताका दुई संरचना स्वास्थ्यकर्मीका लागि, २२ वटा शौचालय र १५ भान्सालगायतका संरचना निर्माण भइरहेका छन् । उक्त निर्माणका लागि २९ करोड २५ लाखमा ठेक्का सम्झौता भएको बताइएको छ।
प्रधानसेनापति शर्मासँगै रक्षामन्त्रालयका सचिव किरण शर्मा, प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेय लगायतले होल्डिङ सेन्टरको निरीक्षण गरेका थिए।