२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्य चौकीमा कुनै पनि औषधी छैन, घन्टौं हिँडेर पुगेका बिरामी रित्तो फर्किन्छन्

स्वास्थ्य चौकीमा कुनै पनि औषधी छैन, घन्टौं हिँडेर पुगेका बिरामी रित्तो फर्किन्छन्


जुम्ला – गाउँपालिकाले महिनौँदेखि औषधी नकिनेकाले स्वास्थ्य चौकीमा कुनै पनि औषधी छैन । घन्टौँ हिँडेर स्वास्थ्य चौकी पुग्ने बिरामी निराश हुँदै फर्किन्छन् ।

सर्केगाड गाउँपालिका– ३ की हजारी फडेरा पेट दुख्ने समस्या भएपछि करिब दुई घन्टा पैदल हिँडेर सायाँ स्वास्थ्य चौकी पुगिन् । स्वास्थ्यकर्मीले चेकजाँच त गरे, औषधि दिन सकेनन् । किनभने, स्वास्थ्य चौकीमा औषधि थिएन । स्वास्थ्य चौकीबाट निःशुल्क पाउनुपर्ने औषधि निजी फार्मेसीबाट महँगो मूल्यमा किनेर हजारी फर्किन् ।

हजारी मात्र होइन, पछिल्लो समय सायाँ स्वास्थ्यचौकी पुग्ने सबै बिरामी औषधी अभावको समस्या भोगिरहेका छन् । सर्केगाड गाउँपालिकाको सायाँ, दुल्ली, मुण्डीलगायतबाट स्थानीय उपचार र औषधिका लागि सायाँ स्वास्थ्यचौकी पुग्छन् । तर, औषधि नपाउँदा सास्ती खेप्दै आएका छन् । ‘स्थानीयहरू घन्टौँ हिँडेर स्वास्थ्यचौकी पुग्छन्, तर औषधि नपाएर खालीहात फर्किनुपरिरहेको छ,’ हजारीले भनिन्, ‘मैले पनि व्यर्थमा दुःख पाएँ । स्वास्थ्यचौकीमा निःशुल्क पाइने औषधी नपाउँदा निजी मेडिकलमा महँगो मूल्य तिर्न बाध्य भएँ ।’

सायाँ हुम्लाको मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिकाको पनि केन्द्रमा पर्छ । त्यसैले आसपासका गाउँका बिरामी उपचारका लागि अन्यत्रभन्दा सायाँ नै पुग्ने गर्छन् । तर, गाउँपालिकाको चरम लापरबाहीका कारण बिरामीले महिनौँदेखि यस्तो सास्ती भोग्दै आएका छन् । अनमी बिजौरा शाहीका अनुसार स्वास्थ्यचौकीमा महिलाहरूले प्रयोग गर्ने पिल्स चक्कीसमेत छैन ।

‘स्वास्थ चौकी नखोल्दा किन खोलेनौँ भन्छन्, खोलौँ भने औषधि छैन,’ शाहीले दुःखेसो पोखिन् । गाउँपालिकाले चासो नदिँदा स्वास्थ्यचौकीमा औषधि नभएको अहेब धर्मराज शाहीले बताए । ‘बिरामी आउँछन्, स्वास्थ्य चौकीमा औषधी छैन, हामीलाई गाली गर्छन्,’ अहेब शाहीले भने, ‘स्वास्थ्य चौकीमा आगो लगाउँछौँ भन्ने धम्कीसमेत दिन्छन् ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ