लन्डन – बेलायतमा कोरोना भाइरसका कारण कोमामा पुगेकी एक नर्सको ज्यान भियग्राको प्रयोगले बचाइएको छ । ४५ दिनदेखि कोमामा रहेकी ३७ वर्षीया मोनिका अल्मेडालाई डाक्टरहरूले भियग्राको सहयोगमा बचाएका हुन्।
उपचारको यो अनौठो जुक्ति मोनिकाका सहकर्मीहरूको थियो।
मोनिका अल्मेडाको अक्सिजनको स्तर लगातार घट्दै गइरहेको थियो । उनको अवस्था देखेर एउटा चमत्कारले मात्रै बचाउन सक्छ भन्नेमा सबै थिए। र, उनका सहकर्मीहरूले त्यो चमत्कार गरे । इङ्ल्यान्डको गेन्सबरो लिंकनशायर निवासी मोनिकाले भनिन्, ‘जब मलाई होस आयो, डाक्टरले मलाई भियग्राको मद्दतले होसमा ल्याइएको बताए । सुरुमा मलाई यो सबै मजाक लाग्यो। तर, मलाई भियग्राको ‘हेबी डोज’ दिइएको रहेछ।’
मोनिका एनएचएस लिंकनशायरमा कोरोना संक्रमितको उपचार गर्थिन् । यसैक्रममा उनलाई अक्टोबरमा कोरोना संक्रमण भयो । विस्तारै उनको स्वास्थ्य बिग्रन थाल्यो र रगतसहितको बान्ता हुन थाल्यो । त्यसपछि मोनिकाले अस्पतालमा उपचार गराएकी थिइन् । उनलाई त्यहाँबाट चाँडै डिस्चार्ज गरियो । तर, घर पुगेपछि उनलाई श्वास फेर्न समस्या हुन थालेपछि उनलाई लिंकन काउन्टी अस्पतालमा भर्ना गरिएको थियो ।
मोनिकाको अक्सिजनको स्तर लगातार घटिरहेको थियो। जसकाकारण उनलाई आईसीयूमा सारिएको थियो । उनी नोभेम्बर १६ मा कोमामा गएकी थिइन् । उनको अवस्था बिग्रँदै गएको देखेर डाक्टरहरुले उनको उपचारका लागि भायग्राको प्रयोग गरेका थिए । भियग्राको प्रयोगले रक्तसञ्चारमा सुधार ल्याउँछ । भियग्राले फोक्सोमा फोस्फोडिस्टेरेज इन्जाइमहरू उत्पादन गर्छ र रगतका नसाहरूलाई फैलाएर फोक्सोलाई आराम दिने काम गर्छ।
मोनिकाले भनिन्, ‘त्यो भियग्राको औषधी थियो, जसले मेरो ज्यान बचायो । ४८ घण्टाभित्र मेरो फोक्सोले काम गर्न थाल्यो । मलाई दम छ, जसकारण मेरो अक्सिजनको स्तर घटिरहेको थियो।’ मोनिका अहिले पहिलेको तुलनामा निको भएकी छिन् । हालै उनको घरमै उपचार भइरहेको छ ।
-एजेन्सी