काठमाडौं—दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि १६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको संयोजकत्वमा बनेको उपकुलपति सिफारिस समितिले आवेदन माग गरेको समयसीमाभित्र १६ जनाले आवेदन दिएका छन् ।
सिफारिस समितिले १ हप्ताको समय दिएर इच्छुक र योग्यता पुगेको व्यक्तिहरुबाट उपकुलपति पदका लागि आवेदन माग गरेको थियो । आवेदन दिनेमा निवर्तमान उपकुलपति प्रा.डा. संगीता भण्डारी, स्वास्थ्य सेवा विभागका पूर्व निर्देशक डा. विकास लामिछाने, स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाका निर्देशक डा. पवनजंग रायमाझी, मनिपाल अस्पतालका प्राध्यापक डा. प्रदीप घिमिरे शर्माले आवेदन दिएका छन् ।
त्यसैगरी, मोडल अस्पताल पोखराका डा. लुमेश्वर आचार्य, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्ले, राप्ती प्रादेशिक अस्पताल डा. जितनारायण यादव, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रेक्टर डा. विश्वनाथ यादव, गंगालाल हृदयरोग केन्द्रका मुटु रोग विशेषज्ञ डा. रामेश कोइराला, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का प्रा.डा. रेवतीरमण मल्ल पनि उपकुलपति पदका लागि आवेदन हालेका छन् ।
मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष प्रा.डा. नारायण विक्रम थापा, डा. प्रवीण श्रेष्ठ, भरतपुर क्यान्सर अस्पतालका डा. लक्ष्मीनारायण सिंह, नारायणीका पूर्व मेसु डा. सन्जयकुमार ठाकुर, डा. ऋषिकेशनारायण श्रेष्ठ, डा. प्रमोद रेग्मीले पनि राप्तीको उपकुलपतिका लागि आवेदन दिएका छन् ।
४ वर्षको कार्यकाल हुने प्रतिष्ठानको उपकुलपतिका लागि सिफारिस समितिले ३ जनाको नाम छनोट गरेर प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पेश गर्नेछ । सिफारिस भएका तीन नामबाट एक जनालाई प्रधानमन्त्रीले प्रतिष्ठानको उपकुलपति नियुक्त गर्नेछन् । स्वास्थ्य मन्त्री नेतृत्वको उपकुलपति सिफारिस समितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला सदस्य रहेका छन् ।