नेपालगन्ज—बाँकेको नेपालगन्जस्थित कारागारको क्षमता ३ सय ५० जनाको छ । अहिले बाँके कारागारमा ८ सय ८ जना कैदीबन्दीलाई राखिएको छ ।
स्थानको अभाव हुँदा कैदीबन्दीहरुले राम्रोसँग सुत्न समेत पाउँदैनन् । क्षमताभन्दा धेरै जना कोचिएर बस्नु पर्दा कैदी बन्दीले न्यूनतम आधारभूत सुविधासमेत पाउन सकेका छैनन् । सानो ठाउँमा धेरै जना कोचिएर बस्नुपर्दा कारगारका कैदीबन्दीहरु टिबी रोग संक्रमणको उच्च जोखिममा छन् ।
कारागारमा रहेका कैदीबन्दीमध्ये २ जनाले टिबीको औषधी सेवन गरिरहेका छन् । टीबी सरुवा रोग हो । सरुवा रोग भएका कारण अन्य कैदी बन्दीहरुमा पनि टिबी रोग सर्ने जोखिम हुन्छ । अन्य कैदी बन्दीमा टिबी संक्रमण भए—नभएको एकीन गर्नका लागि स्वास्थ्य कार्यालय बाँकेले कान्ति आरोग्य अस्पताल र किड्स नेपालसँग समन्वय गरेर टिबी रोग स्क्रिनिङ शिविर संचालन गरेको जेलर राम कुमार सोनकरले बताए ।
शिविरबाट पहिचान भएका बिरामीहरुलाई कारगारमै नियमित रुपमा औषधी खुवाउने ब्यवस्था मिलाइने छ । कान्ति आरोग्य अस्पतालका स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परिक्षण गरेर शंकास्पद बिरामीका खकार परीक्षण र आवश्यकताअनुसार एक्सरे गरेर टिबीका बिरामीहरुको पहिचान गर्ने अस्पतालकी प्रबन्ध निर्देशक डा. रोमा बोराले बताइन् ।
क्षयरोग अर्थात टिबीका बारेमा पर्याप्त जानकारी नहुदा अझै पनि नेपालमा करिब ५० प्रतिशत टिबी रोगका बिरामीहरु स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर भएको अनुमान छ ।
ठुलो संख्यामा बिरामीहरु स्वस्थ्य संस्थाको पहुँचभन्दा बाहिर भएका कारण टिबी रोगको अवस्था भयावह छ । तर, पहुँचभन्दा बाहिर रहेका बिरामीहरुको पहिचान र सहज उपचारका लागि टिबी रोग स्क्रिनिङ शिबिर प्रभाबकारी हुने नेपालगन्ज कारागार स्वास्थ्य शाखाका प्रमुख कविराम खड्काले बताए ।
टिबी रोगका बिरामीहरुमा खोकी लाग्ने, छाती दुख्ने र ज्वरो आउने लक्षण देखिन्छन् । स्वास्थ्य परिक्षण गराई नियमित रुपमा औषधी खाने बिरामीमध्ये करिब ९० प्रतिशत निको हुन्छन् ।
तर, बिरामीहरु स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर भएका कारण नेपालमा दैनिक करिब २० जनाको टिबी रोगका कारण मृत्यु हुने अनुमान छ ।
टिबी रोग छातीमा मात्रै हुन्छ भन्ने अल्पज्ञानका कारण हड्डी, आन्द्रा र डिम्बाशयलगायतका ठाउँहरुमा हुने टिबीका बिरामीहरु स्वास्थ्य संस्थाको पहुँचमा पुग्न सकेका छैनन् । नेपालगन्जको टिबी रिफरल सेन्टरमा दैनिक ५० देखि ६० जना बिरामीहरु चेक जाँच गराउन पुग्ने गरेका छन् । बाँकेमा गत वर्ष ८ सय ३४ जना नयाँ टिबीका बिरामी पहिचान भएका थिए ।
उपचारको पहुँचमा आएर औषधी खान सुरु गरेका बिरामीहरुमा पनि औषधी कोर्स पुरा नहुँदै बीचमा औषधी खान छोड्ने प्रवृत्ति छ । औषधी बीचमा छाडेका बिरामीहरुमा सामान्य औषधीले काम नगर्ने अर्थात बहु औषधी प्रतिरोगी टिबीको संत्र,मण हुने जोखिम उच्च हुन्छ ।
त्यसैगरी केही बिरामीहरुमा सुरुमै कडा खालको एमडिआर टिबीको संक्रमण भेटिने गरेको छ । कुपोषित बालबालिका, गरिब तथा विपन्न परिवारका सदस्य तथा बढी तनावमा रहने ब्यक्तिमा टिबी रोगको संक्रमण हुने सम्भावना बढी हुन्छ ।
गरिबी, चेतनाको कमी, रोग लुकाउने प्रवृत्ति, सामाजिक कुरीतिका साथै टिबी रोगको निदान र उपचार निःशुल्क पाइने जानकारीको सर्वसाधरणसम्म नपुग्दा टिबी रोग नियन्त्ररण हुन सकेको छैन् ।