२०८१ मंसीर ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशअर्घाखाँचीको शितगंगामा झाडापखाला फैलियो

अर्घाखाँचीको शितगंगामा झाडापखाला फैलियो


बुटवल—अर्घाखाँचीको शितगंगा नगरपालिकामा झाडापखला फैलिएको छ । नगरपालिका-११ खरयवट्टी गाउँमा झाडापखालाको प्रकोप फैलिँदा ५३ जना बिरामी परेका छन् ।

जसमध्ये पाँच जनाको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको शितगंगा नगरपालकाका नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताए । ‘स्वास्थ्यकर्मीसहितको टोली उपचारमा खटिएको छ । अवस्था थप जटिल नहोस् भनेर काम गरिरहेका छौं,’ उनले भने, ‘नियन्त्रणको प्रयास भैरहेको छ ।’

नगरपालिकाका स्वास्थ्य शाखा सह—संयोजक दामोदर ढकालका अनुसार बिरामीमा लगातार झाडा बान्ता हुने समस्या देखिएको छ । तीन दिनदेखि फैलिएको झाडापखालाले गाउँमा समस्या निम्ताएको उनको भनाइ छ । ‘धेरैजसो बिरामीहरुको अवस्था सामान्य नै छ । केही बिरामीको अवस्था जटिल नहोस भनेर बुटवल रिफर गरेका छौँ,’ उनले भने ।

उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र ठाडाका चिकित्सक अजय चौधरीसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर उपचार गरिरहेको छ । खयरवट्टीका स्थानीयमा पखाला लाग्ने, वान्ता हुने समस्या देखिएपछि नगरपालिकाको स्वास्थ टोली परिचालन गरिएको छ । कारण खुल्न नसकेपनि दुषित पानीका कारण झाडापखाला फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।

यसअघि कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाले ४ जनाको मृत्यु भएको थियो भने ८ सय बढी बिरामी परेका थिए । कपिलवस्तुमा पनि खानेपानी प्रदुषित हुँदा झाडापखला फैलिएको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ