विराटनगर—विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षको शौचालयको भेन्टिलेसनबाट एक जना थुनुवा फरार भएका छन् । सोमबार बिहान मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेका सुनसरी बुर्ज गाउँपालिका—२ का २८ वर्षीय शिवनाथ कामत अस्पतालको शौचालयबाट फरार भएका हुन् ।
८ असोजमा मोटरसाइकल चोरी आरोपमा मोरङ प्रहरीले कामतलाई पक्राउ गरेको थियो । पक्राउ परेका कामतलाई पेट दुख्ने समस्या भएपछि पाँच दिन अगाडि कोशी अस्पतालमा भर्ना गरिएको थियो । थुनुवा कामतले शौच आयो भनेर अस्पतालको शौचालय पसेका थिए । शौच गर्न गएको लामो समयसम्म पनि नआएपछि शौचालयमा हेर्दा उनी थिएनन् ।
कामत शौचालयको भेन्टिलेसनदेखि फरार भएको बुझिएको छ । फरार भएको कामतको खोजी कार्य जारी राखेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । ‘शौच गर्न गएको थुनुवा फरार भएपछि हामीले खोजी कार्य जारी राखेको छौं,’ उनले भने । पाँच दिन अगाडि भर्ना भएका कामतलाई अस्पतालले सोमबार डिस्चार्ज दिने तयारी गरेको थियो ।
त्यही तयारी गरेको अवस्थामा शौच आयो भनेर शौचालय छिरेको कामत भेन्टिलेसनबाट फरार भएको प्रहरीले जनाएको छ । चोरी आरोपमा पक्राउ परेका कामतको प्रहरीले अनुसन्धान पुरा गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा समेत बुझाएको थियो । सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा अभियोग लैजाने तयारी गर्दा प्रतिवादी कामत अस्पतालको शौचालयदेखि फरार भएका छन् ।
यसअघि पनि कोशी अस्पतालदेखि एकजना थुनुवा फरार भएका थिए । उनी पछि खोजी कार्य तीव्र बनाएपछि पक्राउ परेका थिए ।