लण्डन—द कँडेल ग्रुपको लण्डनस्थित उलविच लेट नाइट फार्मेसीले ‘युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१’ जित्न सफल भएको छ । युके, दुबई, तथा नेपालमा कैयौं कम्पनीहरु सञ्चालन गर्दै आइरहेका द कँडेल ग्रुपको उलविच लेट नाइट फार्मेसीले फार्मेसी इनोभेसन क्याटेगोरीअन्तर्गत अवार्ड जित्न सफल भएको हो । नेपालमा लामो समयदेखि द कँडेल ग्रुपको ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको छ ।
शोभा शर्मा कँडेल, उलविच लेट नाइट फार्मेसीकी सिनियर क्लिनिकल फर्मासिष्ट र सुपरिटेण्डेन्ट जिगनेश मेहताले संयुक्त रुपमा अवार्ड लिएका थिए । यो प्रतिष्ठित अवार्डले युकेमा साना तथा स्वतन्त्र फार्मेसीहरु जसको १२ वा सोभन्दा कम ब्रान्चहरु छन्, तिनीहरुले गरेको उत्कृष्ट कामको मुल्यांकन गरेको छ । उक्त अवार्डका लागि उलविच लेट नाइट फार्मेसी छनोट हुनु नै गर्वको कुरा भएको द कँडेल ग्रुपका म्यानेजिङ डाइरेक्टर राजन कँडेलले बताए ।
‘यो अवार्ड पाउँदा अन्यन्त खुसी भएका छौँ । यो फार्मेसी टिमले गरेको कडा मेहनतको नतिजा नै हो । हामीले भर्खरै हाम्रो चौथो फार्मेसी लण्डनमा विस्तार गरेका छौँ,’ फार्मेसीका म्यानेजिङ डाइरेक्टर राजन कँडेलले भने, ‘यो अवार्डले स्थानीय समुदायको सहयोग गर्न थप प्रोत्साहन गरेको छ । उलविच लेट नाइट फार्मेसीले गरेको कामको कदर गर्दै अवार्डबाट सम्मानित गरेकोमा धन्यवाद दिन चाहन्छु ।”
उनले अगाडि भने, ‘यस वर्षको अवार्डले कोभिड महामारीका बेला एनएचएसमा रहेका फार्मेसीले गरेको भूमिकालाई समेत प्रष्ट पारेको छ ।’ यो सफलतासँगै द कँडेल ग्रुपले फार्मेसी सेवा नेपालमा पनि विस्तार गर्ने योजना बनाएको र स्थानीय समुदायलाई कसरी सेवा प्रदान गर्न सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग छलफलमा रहेको उनले बताए ।
उक्त अवार्डबारे उद्योग विशेषज्ञहरुको एक प्यानलले युकेको संसदमा छलफल गरी निर्णय गरेका थिए । उक्त छलफलका प्रमुख वक्तामा कम्युनिटी फार्मेसी स्कटल्याण्डका प्रमुख कार्यकारी ह्यारी म्याकक्युललान रहेका थिए । उनले फार्मेसिष्टहरुले महामारीका बीच पनि विभिन्न चुनौतीसँग सामना गरी व्यवसायिक धर्म निभाएको भन्दैं प्रशंशा गरेका थिए ।
अन्य प्रतिष्ठित अतिथिहरुको पनि उपस्थिति रहेको थियो । जसमध्ये एलायन्स हेल्थ केयर, जसले फार्मेसी इनोभेसन अवार्डको प्रायोजन गरेको थियो । उक्त अवार्डले फार्मेसी बिजनेशलाई थप प्रोत्साहन पुर्याउने काम गरेको छ ।