काठमाडौं—नेपाल वायु सेवा निगमले चीनको बेइजिङबाट ४४ लाख कोभिड—१९ विरुद्धको भेरोसेल खोप काठमाडौं ल्याएको छ । शुक्रबार दिउँसो वायु सेवा निगमको वाइडबडी ३३० मार्फत ४४ लाख खोप नेपाल ल्याइएको हो ।
सरकारले पहिलो पटक एकै पटक यति धेरै डोज खोप ल्याएको हो । खोप आएपछि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, स्वास्थ्य सचिव रोशन पोखरेललगायतका स्वास्थ्यका उच्च अधिकारीहरु विमानस्थल पुगेर खोप बुझेका थिए ।
सरकारले पछिल्लो पटक चीनसँग जीटुजी अन्तर्गत ननडिस्क्लोजेबल एग्रीमेन्ट गरेर ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज यसअघि नै आइसकेको छ ।
यसअघि ७४ लाख डोज भेरोसेल, २४ लाख ४८ हजार कोभिशिल्ड, १७ लाख ७७ हनार अस्ट्राजेनेका र १६ लाख जोनसोन एण्ड जोनसोनको खोप आइसकेको छ । फाइजर र मोडर्नाको खोप ल्याउने तयारी पनि सरकारले अगाडि बढाएको छ ।
नेपाल सरकारले चैत मसान्तसम्म सबैलाई कोभिड—१९ विरुद्धको खोप लगाइसक्ने लक्ष्य निर्धारण गरेको छ ।