आत्मनिर्भर भनिएका औषधी पनि विदेशबाटै आयात
दैनिक १ करोड ४० लाख बराबरको औषधी विदेशबाट आउँछ

काठमाडौं—नेपालमा नै उत्पादन हुने ३० प्रकृतिका औषधीहरु वाह्य देशबाट आयातमा प्रतिवन्ध लगाएपनि आफ्नै निर्णय कार्यान्वयनमा सरकार असफल भएको देखिएको छ । सरकारले ३० जेठ २०७४ मा प्रकृतिका औषधीहरुको कच्चा पदार्थ मात्रै आयात गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनका लागि कार्यतालिकासहित स्वास्थ्य मन्त्रालयमा पेश गरिएको थियो ।
मन्त्रालयबाट २०७४ जेठमा नै कार्यतालिका बमोजिम औषधी व्यवस्था विभागमा पत्र पठाएपनि तीन वर्ष बितिसक्दा पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । जसकारण अझै भारत, बंगलादेश, चीन, बेल्जियमलगायत देशहरुबाट नेपाल आत्मनिर्भर भएका औषधीहरु समेत आयात भइरहेका छन् ।
औषधी उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले औषधीमा नेपाललाई आत्मनिर्भर बनाउने नीति नियम बनेपनि कार्यान्वयनमा नआएको बताउँछन् । ‘नीति नियमहरु त बनेका छन् । तर, कार्यान्वयनमा आउन सकेको छैनन् । औषधी व्यवस्था विभागले आनाकानी गरेर बसेको छ,’ उनले भने । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा वक्तव्यमा समेत स्वदेशी उद्योगहरुलाई आधारभूत संरक्षण दिने नीति लिएको थियो ।
औषधी व्यवस्था विभागले केही समयअघि स्वास्थ्य मन्त्रालयलाई औषधी उत्पादन सन्दर्भमा कार्ययोजनासहित विवरण पठाएको थियो । कार्ययोजनामा नेपालमै उत्पादित ३० प्रकारका औषधीहरु २०७४ असार मसान्तदेखि लागु हुने गरी आयातमा रोक लगाइने भनिएको छ ।
यसरी आत्मनिर्भर भएका औषधीहरुमा अल्बेन्डाजोल, एमोक्सासिलिन एजिथ्रोमाइकीन, ट्रीमेथोरपीम प्लस सल्फामेथोजाजोल, मेट्रोनीडाजोल, एन्टासिड, ओमेप्राजोल, पेन्टाप्राजोल, रेनीटेडीन, मल्टीभिटामीनहरु पारासिटामोल रहेका छन् । यस्तै, सेट्रेजीन, केही मलमहरु, इन्डोमेथासीन, टीनिडाजोल, अल्वेन्डाजोल, अक्सीक्लोनजाइड भेट, लेभामीजोल भेट, कालामाइन लोसन, क्याल्सियम कार्वोनेट रहेका छन् ।
क्याल्सियम कार्बोनेट, जेन्सन भ्वाइलेट, निमो सुलाइड, ट्रामाजोल, साइप्रो हेप्टाडिन पनि नेपालमै आत्मनिर्भर भएका औषधी भित्र पर्दछन् । यी औषधीहरु अहिलेपनि विदेशबाट आयात भइरहेका छन् । दैनिक औसत एक करोड ४० लाख रुपैंया बराबरको औषधी विदेशबाट नेपालमा आयात भइरहेको नेपाल औषधी उत्पादक संघले जनाएको छ । यसरी हेर्दा नेपालमा मासिक औसत ४२ करोड रुपैयाँ बराबरको औषधी आयात हुन्छ । संघका उपाध्यक्ष बरालले भने, ‘नेपाली औषधिहरुलाई प्रोत्साहन गर्ने सरकारले नीति त ल्याएको छ । तर, सरकार अझै कार्यान्वयनमा गम्भीर देखिएको छैन ।’
औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले पनि नेपाल आत्मनिर्भर भएका औषधीहरु प्नि विदेशबाट आयात भइरहेको स्वीकार गरे । ‘तयारी औषधी नलिने भनेर अध्ययन समितिले सिफारिस पनि गरेको हो । तर, कार्यान्वयन नभएको यथार्थ हो,’ उनले भने, ‘कोभिड—१९ महामारीले जीवनरक्षक औषधीहरु स्वदेशमा उत्पादनका लागि एकीकृत भएर साझा लक्ष्यसहित आउनुपर्छ भन्ने पाठ पनि सिकाएको छ ।’
हाल देशभर ५३ औषधी उद्योगले एलोपेथिक प्रकृतिका औषधि उत्पादन गर्दै आएका छन् । अझै ३० वटा नयाँ उद्योग सञ्चालनको तयारीमा छन् । हाल नेपालमा करिब ३ सय प्रकृतिका औषधी उत्पादन हुँदै आएका छन् ।
ट्याग : #५३ औषधी उद्योग, #औषधी उत्पादन, #औषधी व्यवस्था विभाग, #नेपाल औषधी उत्पादक संघ, #स्वास्थ्य मन्त्रालय
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ३ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- ४ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ७ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
तपाईको प्रतिक्रिया दिनुहोस