जुम्ला—जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नागरिकको विभाजित बुझाइका कारण कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण चुनौतीपूर्ण भएको भएको बताएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक समेत रहेका थापाले महामारी राज्य, नागरिक कसैले पनि निम्त्याएको समस्या नभएको बताए ।
‘यो महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नु राज्य र नागरिक दुवैको जिम्मेवारी हो,’ उनले भने । फैलिदो संक्रमणलाई नियन्त्रण गर्नका लागि गरिएका प्रयासलाई असफल बनाउन गैरजिम्मेवार काम भएकाले चुनौतीपूर्ण बनेको उनको भनाइ थियो ।
सार्वजनिक स्थानमा आइसोलेसन, क्वारेन्टिन लगायतका संरचना बनाउने कामलाई बाधा पुग्ने गरी समाजबाट असहयोग भएको पनि प्रजिअ थापाले बताए । ‘राज्यले निषेधाज्ञा रहरले लगाएको त होइन । धेरैभन्दा धेरै नागरिकलाई जोखिमबाट बचाउनका लागि गरिएको निषेधाज्ञा उल्लंघन गर्नेजस्ता प्रयासले महामारी नियन्त्रण गर्न चुनौतीपूर्ण बनाउने काम भयो,’ उनले भने ।
आइतबार प्रजिअ थापाले १३ महिने कार्यकालमा भए गरेका प्रगति विवरण सार्वजनिक गरेका गर्दै कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठक ३४ वटा सम्पन्न गरिएको बताए । सबै स्थानीय तहमा ५०/५० बेडको क्वारेन्टाइन/आइसोलेशन निर्माण गरिएको उल्लेख गर्दै उनले कोभिड–१९ को दोस्रो लहर रोकथाम तथा नियन्त्रण कार्ययोजना २०७८ कार्यान्वयन गरिएको बताए ।
कोरोना परीक्षणसहित गाउँपालिका अध्यक्ष नेतृत्वमा आइसोलेसन व्यवस्थापन समिति गठन र उपाध्यक्षको नेतृत्वमा जनचेतनामा तथा प्रचार–प्रसार गर्न समिति गठन गरिएको थियो । स्थानीय तहमा क्वारेन्टाइन तथा आइसोलेसन अनुगमन गरिएको उनले जानकारी दिए । नागरिकलाई कोभिड–१९ बाट बचाउन ‘तपाईंको मास्क खै’ अभियान संचालन गरिएको थियो । कोरोना रोकथाम नियन्त्रण गर्न गैसस सहयोग आहवान गरी अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्टेटरसहित ७२ लाख ४३ हजार ८०९ रुपैयाँ बढीको स्वास्थ्य साम्रगी संकलन तथा वितरण गरिएको प्रजिअ थापाले बताए । उक्त सामाग्रीहरु ८ वटै स्थानीय तह र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई वितरण गरिएको छ ।
कोभिड–१९ संक्रमण अत्याधिक बढेपछि नागरिक जीउ धन सुरक्षा गर्न १५ पटक निषेधाज्ञा जारी गरिएको उनले बताए । माक्स नलागाउनेलाई जरिवाना तथा कारवाही, कोरोनावाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनमा समन्वय गरिएको थापाले जानकारी दिए ।