विराटनगर – प्रदेश १ को राजधानी विराटनगरमा रहेको बाल सुधार गृहमा कोभिड-१९ संक्रमण फैलिएको छ । उमेर नपुगेका विभिन्न अपराधमा संलग्न भइ कैद सजाय भुक्तान गर्दै आएका बालविज्याईकर्तालाई राखिने सुधार गृहमा संक्रमण फैलिएको पाइएको हो ।
बाल सुधार गृहका ५० जनामा पिसिआर परीक्षण गर्दा २५ जना बालकमा संक्रमण देखिएको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । बाल सुधार गृहमा क्षमताभन्दा धेरै बालविज्याइकर्ताहरू राखिएको छ । ५० जना क्षमता भएको सुधार गृहमा १९३ जना बालक छन् ।
गत जेठ २ गते पहिलो पटक एक बालकमा कोभिड-१९ संक्रमण पुष्टि भएपछि लक्षण देखिएका थप दुई जनाको रिपोर्ट पोजेटिभ आएको थियो । जेठ १३ गते कन्ट्याक्ट ट्रेसिङमा परेका ५० जनाको पिसिआर गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको पाइएको छ । २२ जनाको रिपोर्ट पोजेटिभ आएयता अन्य बालकको पिसिआर परीक्षण भएको छैन ।
सुधार गृहभित्र रहेका बालकहरुमा ज्वरो र खोकीको लक्षण देखिएको स्रोतले जनाएको छ । जेठ १३ गते संकलन गरिएको नमुनाको रिपोर्ट १७ र १८ गते आउँदा २२ जनामा कोरोना देखिएको भएपनि अन्य बालकको परीक्षण अझै भएको छैन । सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार संक्रमण पुष्टि भएका बालकहरूलाई छुट्टै स्थानमा राखिएको छ । जेठ १३ गते स्वाब सङ्कलन गरिएका बालकको रिपोर्ट ढिलो आएकोले अन्य बालकको परीक्षणमा ढिलाई भएको उनको भनाई छ ।
सङ्क्रमण पुष्टि भएका बालकहरूमा कुनै लक्षण भने नदेखिएको उनले बताए । पोजेटिभ देखिएका बालकलाई महानगरपालिकाको आइसोलेसनमा राखिएको छ । सुधारगृहको एउटै कोठामा २५ जनासम्म बालकहरुलाई राखिएकोले उनीहरुमा कोभिड फैलिएको हो ।
सुधारगृहमा १४ वटै जिल्लाका बालविज्याईकर्तालाई अदालतको आदेशपछि राखिन्छ । सुधार गृहमा १४ देखि १८ वर्ष उमेर समूहका बालकहरु छन् ।