मुख स्वास्थ्यलाई आम नेपालीले खासै ध्यान नदिनु वा दाँत, मुखलाई स्वास्थ्यको विकल्पको रुपमा लिनु वा मानौं सरकारी तहबाट प्राथमिकतामा नपर्नु बिडम्बना नै मान्न सकिन्छ ।
मुख स्वास्थ्यलाई सामान्य रुपमा लिइदैं गर्दा पेटमा रहेको बच्चा, जन्मपश्चात पर्ने असरबारे जानकारी हुनुपर्ने भएकाले पारिवारिक योजनामा रहनु भएका विवाहित दम्पत्तिले परीक्षणलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।
दाँतको दुखाइ प्रसुती दुखाइ समान हुने अनुमान लगाउन सकिन्छ । त्यसैले गर्भ रहनु पहिले, गर्भको ९ महिना लामो समय र बच्चाले जन्म लिइसकेपछि देखिने समस्याबाट बच्न पहिले नै दन्त र मुख परीक्षण आवश्यक देखिन्छ । अन्याथा बच्चा भ्रुणको अवस्थामा रहँदा कडा दुखाइको सामना उपचार बिना नै सहन गरेर बस्नुपर्ने अवस्था आउन सक्छ ।
पारिवारिक योजनाको सोच रहनु पहिले ध्यान दिनुपर्ने
दाँत/मुखमा आफूलाई केही नभएको जस्तो लागेतापनि पारिवारिक योजना पूर्व दन्त चिकित्सकको सल्लाह लिने
जसमा,
– गिजाको अवस्था जाँच गर्ने
– दाँतको कुनै भागमा किरा लागेको छ/छैन परीक्षण गर्ने
– वुद्धि बंगाराको अवस्था हेर्न
– दाँतको कतै कुनै टुक्रा/छुटेको वा रहेको, दाँतको जरा नभए/नभएको परीक्षण गर्ने
-प्रायःजसो खाना अडकिने दाँतको र गिजाको अवस्था परीक्षण गराउने
गर्भ रहेको ९ महिनाको अवधि
९ महिनाको गर्भावस्थालाई ३ चरणमा विभागजन गर्दा (बच्चाको वृद्धि विकासको आधारमा)विभिन्न हर्मोनल र शारिरीक परिवर्तन हुने गर्दछन् ।
पहिलो तीन महिना
यो समयमा महिलाको शरीरबाट विभिन्न रस (हर्मोन/प्रोजेस्टेरोन) को मात्र बढ्ने हुन्छ । जसले आमाको गिजामा परिवर्तन आउने, दाँत हल्लिएको जस्तो महसुस हुने, गिजाबाट रगत आउने अवस्था हुने गर्दछ ।
गर्भावस्थाको तीनदेखि ६ महिना
गर्भावस्थाको दोस्रो तीन महिना वा ६ महिनालाई गर्भ पहिले चेकजाँच गर्दा समस्या नदेखिएको तर समस्या आएको अवस्थामा चेक जाँच गरी उपचार गर्न सकिने हुन्छ । यस अवस्थामा बच्चाको विकास र परिवर्तनमा केही सन्तुलन रहने हुन्छ । उपचारको दृष्टिकोणले यो समयलाई उपयुक्त मानिन्छ ।
गर्भावस्थाको ६ देखि ९ महिना
गर्भावस्थाको ६ देखि ९ महिना वृद्धि विकास हुने क्रम चलेको अवस्था हुन्छ ।
गर्भावस्थाको यो अन्तिम चरणमा गर्भावस्थाको यो अन्तिम चरणमा बच्चाको पूर्ण वृद्धि विकास हुने क्रम चलेको हुन्छ । उपचारका दृष्टिकोणले यो समयलाई उपयुक्त मानिदैन् ।
त्यसैले गर्भावस्थाको समयमा अवैधानिक र विना सावधानीपूर्वक गरिने उपचार जस्तैः सिधा डाक्टरको सल्लाहबिना औषधि पसलमा गएर नदुख्ने औषधि (पेनकिलर), एन्टीबायोटिक आदिको सेवनले दीर्घकालीन रुपमा बच्चाको स्वास्थ्य र दाँतमा सिधा असर पार्ने हुन्छ । यी औषधिले अन्तरालमा बच्चाको नयाँ उम्रने दाँतमा क्याल्सियमको मात्रा कमी हुने, सेतो दाग देखिने (जुन एकदम कमसल) किसिमको हुन्छ), छिटो किरा लाग्ने, भाँचिने सम्भावना बढी हुन्छ । यस अवस्थामा आमाले नर्मल प्यारासिटामोलको मात्र सेवन गर्नुपर्ने हुन्छ । जुन दाँतको दुखाइ सामुन्ने खासै राम्रो काम गरेको हुँदैन्, तर त्यसबाहेक अन्य औषधिको विकल्प हुँदैन ।
दाँतको जरा वा त्यसको भित्री भाग हेर्न गरिने एक्स-रे आदिले समेत बच्चालाई दीर्घकालीन असर गर्ने हुन्छ ।
अमेरिकन डेन्टल एशोसिएसनको जर्नलमा प्रकाशित एक आर्टिकलमा गिजाबाट रगत आउने गर्भावस्थाको महिलामा प्रिम्याच्योर डेलिभरी हुने, तौल कम भएको बच्चा जन्मने, ओठ काटिएको अवस्थाको बच्चा जन्मने अवस्था हुन सक्छ भनेर उल्लेख छ । लामो समयदेखि गिजामा समस्या भएर रगत आइरहने महिलामा अन्य महिलाको तुलनामा ४–७ पटक बढी ९ महिना अगावै (बच्चाको पूर्ण विकास नहुँदैं) जन्मने समस्या रहेको पाइएको छ (प्रायःजसो ३२ हप्तामा) ।
गर्भावस्थामा मुखमा देखिने क्यान्सर
गर्भावस्थामा कहिलेकाही धेरै नरम र कमसल गिजासँगै एक किसिमको गहिरो खाडल पिनले घोचेको जस्तो दाग गिजामा देखिने हुन्छ । जुन अवस्थामा बोल्दा, केही चपाउँदा, ब्रस गर्दा रगत आउने हुन्छ । गर्भावस्थाको महिलामा हुने यो समस्यालाई ‘प्रिग्ननेन्सी टियुमर’ भनिन्छ । यो सामान्यतयाः दोस्रो ट्राइमेष्टर (३–६ महिनाको समय) मा हुने हुन्छ ।
यो गिजामा देखिने समस्या (क्यान्सर) जटिल र सर्ने रोग होइन् । यो समयमा हुने हर्मोनल परिवर्तन र दाँत मुखको सफाइ नभएर बन्ने दन्त लेउ, प्लाक जम्मा हुने त्यो गिजामा देखिने यस्तो क्यान्सर किसिमको समस्यालाई अन्य शब्दमा ‘पायोजेनिक ग्रयानुलोमा लोभुलर क्यापिलरी हेमान्जीयोमा र प्रिग्नेन्सी इपुलाइड पनि भनिन्छ । यो समस्या बच्चा जन्मेपछि आफै हराएर जाने हुन्छ ।
अन्त्यमा,
गर्भावस्थामा रहेको बच्चाको साललाई पार गरी बच्चाको अंगमा पस्न सक्ने औषधिहरु जस्तैः दुखाइ कम गर्न प्रयोग हुने औषधिहरु, एन्टिबायोटिकहरू र एक्स-रे आदिले सिधा दीर्घकालीन असर गर्ने हुनाले यो समयमा उपचार गर्नेभन्दा प्राथमिक रूपमा सचेत भएर पूर्व चेकजाँचमा ध्यान दिनु उपयुक्त मानिन्छ । एन्टीबायोटिकका रुपमा प्रयोग गरिने टेट्रासाइक्लिङ समूहका औषधिले जन्मिने बच्चाको दाँतमा विशेष हानी पु¥याउने हुन्छ ।
४० प्रतिशत गर्भवती महिलाले गिजामा हुने संक्रमण भोग्नुपर्ने अवस्था आएको देखिन्छ । जसमा प्रमुख कारण प्रोजेस्टरोनको लेभल बढ्ने र गिजाको आकार सुनिएको जसरी बढ्न गइ ब्याकटेरियाहरूलाई लुक्नका उपयुक्त वातावरण सिर्जना गरिदिने हुन्छ । त्यसै अवस्थालाई ‘प्रिग्नेन्सी जिन्जीभाइटिस’ भन्ने गरिन्छ । जसमा प्रिम्याच्योर डेलिभरी हुने सम्भावना रहेको एक अध्ययनले देखाएको छ ।