काठमाडौं सरकारकाले चीनबाट अनुदानमा ल्याएको कोभिड १९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २५ जेठबाट कोभिड–१९ विरुद्धको खोप लगाइने छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलकाअनुसार चीनसँग सीमा जोडिएका हिमाली जिल्लाका १८ वर्षभन्दामाथि नागरिकलाई पनि भेरोसेल लगाइनेछ । दोस्रो डोजको सुनिश्चितता गरेरै भेरोसेल खोप दिन लागिएको उनले जानकारी दिए ।
चीनले अनुदानमा दिएको १० लाख डोज खोपमध्ये मंगलबार ९ लाख डोज नेपाल आइपुगेको छ । बुधबार थप १ लाख खोप नेपाल आइपुग्नेछ ।
यसअघि भेरोसेल खोप ६० वर्षभन्दा माथिका नागरिकलाई लगाउन नमिल्ने भन्दै नेपालमा ५९ वर्षसम्मका नागरिकलाई दिइएको थियो । यद्यपि, केही दिन अघिमात्र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ६० वर्षभन्दा माथि उमेरसमूहलाई पनि भेरोसेल लगाउन मिल्ने जनाएसँगै यो समूहलाई खोप दिन लागिएको पौडेलले जानकारी दिए ।
‘यसअघि डब्लुएचओले ५९ वर्षसम्मका नागरिकलाई भेरोसेल दिन सकिने भनेको थियो,’ उनले भने, ‘तर, अहिले ६० वर्षभन्दा माथिकालाई पनि दिन मिल्ने भनेको र खोप सल्लाहकार समितिले पनि लगाउन मिल्छ भनेपछि यस्तो निर्णय गरेका हौं ।’
नेपालमा ६० वर्षभन्दा माथिका नागरिकको संख्या ८ लाख ५५ हजार रहेको डा. पौडेलले जानकारी दिए । साथै, खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनैपनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जान उनको अनुरोध छ ।
यसैगरी, खोप केन्द्र तोक्नका लागि सम्बन्धित जिल्ला समन्वय समितिलाई जिम्मा दिइएको डा. पौडेल बताउँछन् । ‘खोप केन्द्र तोक्न जिल्ला समन्वय समितिलाई अधिकार दिइएको छ,’ उनले भने, ‘आज भोलि नै त्यसको टुंगो लाग्नेछ ।’