जुम्ला-जुम्लाको सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले गाउँपालिकाको गाडी कोरोना संक्रमित बोक्न प्रयोग गर्ने भएका छन् । कोरोना संकटका बेला संक्रमित ओसार पसार गर्न आफू चढ्ने गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएका हुन् ।
‘गाउँपालिकामा एक एम्बुलेन्स छ । एम्बुलेन्सले दुई महिनादेखि संक्रमित बिरामी ओसार–पसार गरिरहेको छ । गाउँपालिकाले कोभिड बिरामी बोक्नको लागि एउटा अर्को गाडी पनि व्यवस्थापन गरेको छ,’ उनले भने, ‘संक्रमितको संख्या हेरेर गाउँपालिकाको गाडी पनि एम्बुलेन्सका रुपमा प्रयोग गर्नेछौं ।’
सिंजा गाउँपालिकाले तीन वटै गाडी तयारी अवस्थामा राखेको छ । संकटको बेला आफूहरुलाई गाडी नचाहिने बताउादैं रावलले जनताको भरपुर सेवा गर्न सके मात्र पुण्य कमाउन सकिने बताए । अध्यक्ष रावलले भने, ‘संकटको समयमा जनताको सेवा गर्नु स्थानीय सरकारको कर्तव्य र जिम्मेवारी हो । जनता बाँचे हामी बाच्छौँ । जनता नरहे हामी पनि रहदैनौँ ।’
कोरोना जाँच गराउन जाने आउने कामका लागि गाडी प्रयोग भइरहेका छन् । जुम्लाको हिमा गाउँपालिका बाहेकका सबै स्थानीय तहका गाडी किनिएका छन् । यहाँका स्थानीय तह मध्ये सिंजा गाउँपालिकाले सबै गाडी कोरोना संक्रमितका लागि प्रयोग गर्ने घोषणा गरेको हो ।
एक साताअघि जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले एम्बुलेन्स भाडामा लिने निर्णय गरेको थियो । एम्बुलेन्स भाडामा लिनको लागि तीन दिन भित्र हरेक स्थानीय तहले जिल्ला विपद् व्यवस्थापन समितिको खातामा एक एक लाख रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
तीन दिनसम्म रकम जम्मा हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संक्रमितले सम्बन्धित स्थानीय तहमा आउजाउका लागि सम्पर्क राख्न आग्रह गरेको थियो ।