काठमाडौं(कोरोना संक्रमणपछि नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको छ । अस्पतालका कर्पोरेट कम्युनिकेसन एण्ड पीआर म्यानेजर सोमनाथ बाँस्तोलाकाअनुसार अहिले उनको स्वास्थ्यमा निकै सुधार भएको छ ।
कोरोना संक्रमण भएपछि १२ दिनअघि कोमलसहित पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह नर्भिक अस्पताल भर्ना भएका थिए ।
कोमलको स्वास्थ्यमा समस्या देखिएपछि गत बिहीबारदेखि उनको प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । अहिले पनि उनको आईसीयुमै राखेर उपचार भइरहेको छ ।
स्वास्थ्य अवस्था निकै सुधार भएकाले सामान्य वार्ड सार्ने विषयमा पनि चिकित्सकबीच छलफल चलिरहेको बाँस्तोलाले बताए । ‘उहाँको स्वास्थ्यमा धेरै सुधार भएको छ,’ उनले भने, ‘जनरल बेडमा सार्ने विषयमा चिकित्सकहरुबीच छलफल भइरहेको छ ।’
नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र र पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य र स्थिर छ ।