काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारर आम सर्वसाधरणमा गरेको अपिलमा नेपाल चिकित्सक संघले आपत्ती जनाएको छ ।
शनिबार विज्ञप्ती जारी गर्दै नेपाली जनताको स्वास्थ्यको जिम्मेवार नेपाल सरकारको भएको हुँदा सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्नो दायित्वबाट पन्छन नमिल्ने भन्दै सरकारलाई जिम्मेवार हुन आग्रह गरेको छ ।
शुक्रबार मन्त्रालयले सर्वसाधरणमा अपिल जारी गर्दै देशका २२ जिल्लामा कोरोना महामारी बडेको भन्दै ती जिल्लामा उपचारका लागि बेड उपलब्ध गराउन नसक्ने अवस्था भएको उल्लेख गरेको थियो ।
संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालको संयुक्त हस्ताक्षरमा निकालिएको सो विज्ञप्तीमा चिकित्सक तथा स्वाथ्यकर्मीलाई कोभिड विरुद्धको खोप चाडोभन्दा चाडो लगाएर महामारीसँग जुध्न तयार बनाउन पनि माग गरिएको छ ।
संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संक्रमित हुने क्रम बढेको र उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गर्न समेत माग गरेको छ । साथै महामारीसँग जुध्न संघ सरकारसँग हातेमालो गर्न तयार रहेको समेत उल्लेख गरेको छ ।