बुटवल – बुटवलमा कोभिड-१९ का कारण तीन जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणका कारण बिरामी भई बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजनाको सोमबार मृत्यु भएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका १ की ७१ वर्षीया महिला, अर्घाखाँची मालारानी ५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका ३ का एकजना पुरुष गरी तीन जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए । उनका अनुसार तीनैजनाको एकैदिन मृत्यु भएको हो।
तिलोत्तमाकी महिला चैत्र २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा ज्वरो, दम र निमोनियाको समस्या देखिएको थियो । यस्तै, अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान मृत्यु भएको डा. खनालले बताए । उनमा पनि ज्वरो, दम, निमोनियाको समस्या थियो ।
उता, कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान नै मृत्यु भएको हो । उनमा मधुमेह, ज्वरो, दम, निमोनियाको समस्या रहेको उनले बताए ।
मृतकको संख्या बृद्धि हुन थाले पछि सचेत रहन चिकित्सकहरुले सुझाएका छन् । पहिलेकोभन्दा पनि निको हुने दर कम भएकाले सचेत रहन डा. खनालले आग्रह गरे । भारतमा समेत दोस्रो लहर आएकाले भिडभाडमा नजान र मास्कको प्रयोग गर्न डाक्टरको सुझाव छ ।