दाँत हाम्रो पूरा जीवनमा २ पटक प्रकृतिले दिने उपहार हुन् । जीवनमा प्रकृतिले दुई पटक मात्रै दिने देनलाई हामी मानव समुदायले बचाउन सकेमा दाँत/मुख सम्बन्धि स्वास्थ्य समस्या र खर्चबाट पनि बच्न सकिन्छ । यतिमात्र होइन दाँत मानिसको सौन्दर्यको अभिन्न अंग हो । त्यसैले दाँतको जीवनसँग हाम्रो जीवनका थुप्रै राम्रा कुराहरु जोडिएका छन् ।
दाँतको उपचारमा आम मानिस दुखाइपछि पीडा अत्याधिक हुने हुँदा तुरुन्तै निकालेर शान्त हुने चाहना राख्ने गर्दछन् । हाम्रो हातखुट्टामा घाउ हुँदा चिर्दा दुख्छ, हामीले संरक्षणका लागि उपचार गर्न लाग्दछौं । त्यस्तै, टाउको दुख्दा या शरीरको कुनै पनि अंग दुख्दा त्यसलाई हटाएर शान्ति खोज्नुभन्दा उपचारबाट निर्मुल गर्न हामी लाग्दछौं ।
तर, दाँतमा भने त्यसलाई निकाल्नु नै उत्तम विकल्प भन्ने सोच रहिआएको छ । सायद त्यो पीडाको सामु दाँतको महत्व न्यून भएको सोच हामीभित्र हावी भएर होला । हाम्रा ३२ वटा दाँत छन् । एउटा दाँत निकाल्दा के नै होला भन्ने गलत मानसिकता जब्बर रुपमा हामीभित्र गडेको पाइन्छ ।
कुनै एउटा दाँत निकाल्नु भनेको २ वटा दाँत निकाल्नु बराबर हो । जस्तैः सिलौटो र लोहोरो हाम्रो भान्छामा दैनिक प्रयोग हुने सामाग्रीमा पर्दछ । यीमध्ये खानेकुरा पिस्न एक नहुँदा अर्को प्रयोगविहिन हुन्छ । त्यस्तै, मुखको कुनै एउटा दाँत निकाल्नु भनेको त्यसको विपरित दाँत पनि प्रयोगविहिनतुल्य हुन्छन् ।
समग्रमा केही हजारको लोभमा तत्कालै दाँत झिक्ने निर्णय गर्नु घातक हो । अहिले विज्ञानको आविष्कारका कारण थुप्रै प्रविधी विकास भएका छन् । प्रविधीबाट उपयुक्त परीक्षण र अब्बल चिकित्सहरुको सल्लाहपछि मात्रै दाँत झिक्नेतर्फ सोच्नुपर्छ । सबैभन्दा पहिलो जोड दाँतलाई नझिक्ने र निर्माण गर्नेमै गर्नुपर्दछ ।
आम मानिस दाँतको दुखाइ हुँदा औषधी पसलमा नदुख्ने औषधी खाने चलनले गर्दा दाँतमा हुने खडन आफै क्रमिक रुपले बढ्दै जान्छ । तर, केही पलको लागि दुखाइ कम भएको भ्रममा पर्नाले दाँतको समस्या जटिल बन्दै जाने गरेको पाइन्छ । त्यो साइडबाट चपाउन छोड्ने र त्यस दाँतको वरिपरी लामो समयसम्म नचपाउँदा फोहोर जम्ने र गिजामा समस्या आएर दाँत नै निस्कनेसम्म हुन्छ । त्यसैले समयमै दन्त परीक्षण दाँत सम्बन्धि समस्याबाट मुक्त हुने सबैभन्दा उत्तम उपाय हो ।
दाँत निकालेपछिका जटिलता
हालसम्म विश्वमा दाँत, मुख सम्बन्धी जिम्मेवारी बहन गर्दै बिमामा समेटिएको छैन । महंगो उपचार भएकै कारणले बिमा कम्पनीहरूले पनि रूचि नदेखाएका हुन् । यसबाट दाँत मूल्यविहिन हो भन्ने बुझ्न जरुरी देखिन्छ । एउटा सामान्य कालो दागबाट सुरु हुने दाँत सम्बन्धि समस्या केही महिना वा वर्षमै लाखौंमा परिणत हुने हुन्छ ।
संसारमै दाँतको उपचार महंगो उपचारमध्येमा पर्छ । नेपालमा पनि दाँतको उपचारमा हुने खर्च महंगो छ । त्यसैले दाँतलाई समय—समयमा परीक्षण गरेर त्यो कालो दागलाई समयमै निर्मुल गर्नाले केही सय रुपैयाँमै हामीले दन्त उपचार गराउन सक्दछौं । तर, दाँत देखिएको समस्यालाई हेलचेक्राइ गर्दा यो समस्या क्रमसः विकराल बन्दैं जान्छ र हामीले हजारौं लाखौं रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।
दाँत निकाल्नुपर्ने अवस्था कसरी आउँछ ?
जरादेखि भर्ने अवस्थामा नआइपुग्दा पुग्दासम्म मानिसहरु दन्त परीक्षण गर्न आउँदैनन् । दाँत दुख्ने र आम मानिस औषधी पसलमा गएर नदुख्ने औषधी, एन्टीबायोटिक खाने गलत प्रवृतिले गर्दा दाँतमा लाग्ने किरा त्यही रहनसक्छ ।
दुखाइको कम गर्ने अवस्थाले दाँत पूर्ण रुपले भाँचिने र टुक्रा पर्न गएर निकाल्नु पर्ने अवस्था आउँछ । दाँत निकालिसकेपछि त्यसलाई त्यतिकै छोड्दा दायाँ बायाँ तलमाथिका सँगैको दाँत हल्लिने, सर्ने, टोकाइमा फरक पर्ने अवस्थाको सिर्जना हुँदै जान्छ । त्यो किराले एउटा धमिराले विस्तारै काठलाई खाएजस्तै हाम्रो दाँतलाई पनि खोक्रो बनाउँछ । जसले गर्दा दाँत भाँच्चिने अवस्थामा पुग्छ ।
दाँतमा केही नहुँदाको अवस्थामा पनि दाँतको वनावट मानिसको औलाको छापजस्तै भिन्न हुने हुँदा कतिपय मानिसको प्राकृतिक रुपमै खाडल बन्ने हुन्छ । त्यो गहिरो खाडल केही नहुँदा पनि भर्नुपर्ने हुन्छ । दाँत निकालेर उपचार गर्दा पनि कृत्रिम दाँत हाम्रो मुखमा हुन्छ । जसले प्रकृतिले दिएको दाँत जतिकै सन्तुष्टी नपाइने पनि हुनसक्छ ।
दाँत निकाल्न आउँदा अझ बिरामीले आफूसँग भएको रोगको इतिहास सही नबताइदिँदा या लुकाउँदा रगत बगिरहने, दुखाइ कम नहुने र अन्त्यमा अझ जटिल समस्याको सामना गर्नुपर्ने हुनसक्छ । त्यसैले सामान्य दाँतको उपचारमा हुने लापरवाहीले भविष्यमा हुने दुखाइ, आर्थिक बोझ, समय आदि बर्वाद हुने हुन्छ । हामी दाँत नदुःखी चेक जाँच नगराउने अत्याधिक दुःखेपछि गाला, तथा मुख अनुहार नै फरक पर्ने अवस्था आइपुग्ने हुँदा यो अझ विकराल हुँदै गएको पाइन्छ ।
अहिले नेपालमा दन्त रोग सम्बन्धि विभिन्न प्रविधी आइसकेका हुनाले बुद्धि बंगारादेखि बाहेकका दाँतहरु सकेसम्म ननिकाल्नुपर्ने विभिन्न तौरतरिकाहरु अपनाएर बचाउने सकिने हुन्छ । त्यही भएर हामीले केही हजारको लोभ नगरीकन राम्रो दन्त चिकित्सक सल्लाहअनुसार दाँतको उपचार गराउनुपर्ने हुन्छ । दाँतको उपचार गराउँदा आफूलाई उपचार दिने व्यक्ति नेपाल मेडिकल काउन्सिलमा दर्ता नम्बर भएको हो या होइन यकिन गरेर मात्र उपचार गराउन अनुरोध गर्न चाहन्छु ।
अन्त्य, दाँत निकालेपछिका बेफाइदा
१. निकालेको विपरित दाँत प्रयोगबिहिन हुने ।
२. दायाँ बायाँ साइडका दाँत सरेर टोकाइ नै फरक हुँदै जाने ।
३. त्यो दाँत निकालेको भागको हड्डी सुकेर जाने ।
४. खाना चपाउनु पनि एक किसिमले सफाइ हुनु हो । तर, दाँत नहुँदा चपाउने प्रक्रिया नै नहुनाले फोहोर जम्मा हुने हुन्छ ।
५. दाँत हाल्दा साइडको दाँतलाई समेत मिलाउनुपर्ने बाध्यताले दीर्घकालीन समस्या पनि दिन सक्छ ।
६. सबै दाँत रोप्नु पर्दा पनि लाखभन्दा बढी मुल्य र समय लाग्ने प्रकृतिको हुन्छ ।
७. गाला भित्र पस्ने हुन्छ ।