२०८१ कात्तिक ८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेंगुका बिरामी बढेपछि टेकु अस्पतालमा छुट्टै ज्वरो क्लिनिक, १३ स्वास्थ्यकर्मीमा पनि देखियो डेंगु

डेंगुका बिरामी बढेपछि टेकु अस्पतालमा छुट्टै ज्वरो क्लिनिक, १३ स्वास्थ्यकर्मीमा पनि देखियो डेंगु


काठमाडौ–डेंगुका बिरामीको संख्या बढ्दै गएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले मंगलबारबाट छुट्टै ज्वरो क्लिनिक संचालनमा ल्याएको छ । दैनिक ४ सयभन्दा बढी बिरामी ज्वरो सम्बन्धि रोगका आउन थालेपछि छुट्टै क्लिनिक स्थापना गरिएको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

ज्वरो क्लिनिकसँगै बिरामीलाई परामर्श सहयोगका लागि हेल्पडेक्स पनि स्थापना गरिएको छ । एक सय बेडको सो अस्पतालमा बिरामीको संख्या बढेपछि अस्थायी बेड थप्ने तयारी समेत भएको छ । ‘हामीसँग भएका अधिकांस बेड भरिएका छन्,’ उनले भने ‘अरु बिरामीजस्तो एउटै बेडमा २, ३ जना राखेर उपचार गर्ने कुरा हुँदैन्, त्यही भएर ब्यवस्थापन शाखासँग तत्काल बेड थप गर्दिन माग गरेका छौं ।’

बिरामी भएर आउनेमा अधिकांस काठमाडौंका रहेका छन् भने मकवानपुर, धादिङलगायत १७ जिल्लाका बिरामी आएको अस्पतालको रेकर्डमा उल्लेख छ । सोमबार मात्र २२ जना बिरामी अस्पतालमा भर्ना भएका थिए । जसमध्ये एक जना सिकिस्त बिरामी आइसीयुमा उपचाररत छन् ।

आइतबार ५० जनाको डेंगु जाँच गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुगेका मध्ये ३५ जनामा डेंगुको जीवाणु देखिएको प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन् ।

टेकु अस्पतालमा बिरामी थेग्न नसकेपछि अन्य अस्पतालमा जान थालेको डा. पाण्डेले बताए । ‘यहाँ बेड थोरै छ, उपचार गर्ने स्थानको अभाव छ,’ उनले भने, ‘धेरै त निजी अस्पताल जान बाध्य भएका छन् ।’

सरकारको तथ्यांकमा ५ हजार बिरामी भएतापनि जचाउन नआएका समेत हेर्ने हो भने ५० हजारभन्दा बढीमा डेंगुको सक्रमण भएको हुनसक्ने उनले बताए । डेंगु रोग विशेषज्ञ समेत रहेका डा. पाण्डे डेंगु नियन्त्रण गर्न सबैले आफ्नो वरपर सरसफाइ गर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने र भाडाकुडामा लामो समयसम्म पानी राख्न नहुने बताउँछन् ।

टेकुका १३ जना स्वास्थ्यकर्मीमा डेंगु संक्रमण

टेकु अस्पताल र प्रयोगशालाका गरी १३ जना स्वास्थ्यकर्मीमा डेंगु रोगले संक्रमण गरेको छ । अस्पतालका दुई कन्सल्टेन्ट चिकित्सकसहित १० जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका तीन जनालाइ डेंगु देखिएको हो ।

अहिले कागठमाडौंको टेकु अस्पताल र प्रयोगशाला परिसर डेंगुको लागि सबैभन्दा बढी जोखिम क्षेत्र रहेको डा. झा बताउँछिन् । ‘अधिकांश बिरामी यही आउँछन्, डेंगु सार्ने लामखुट्टेको पनि कमी छैन्,’ उनी भन्छिन् ‘पछिल्लो समय प्रयोगशाला र टेकु अस्पताल गरेर एक दर्जनभन्दा बढी कर्मचारीलाई पोजेटीभ देखिएको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ