डा. शैलजा क्षेत्री श्रेष्ठ वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ मात्र नभएर लामो समयदेखि प्राध्यापन क्षेत्रमा पनि आवद्ध छन् । विगत ६ वर्षदेखि उनी प्रध्यापक भएर सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा अध्यापन गराइरकेही छन् । उनले सोही प्रतिष्ठानबाट एम.डी. गरेकी हुन् । सन् २००५ मा लेक्चरर भएकी थिइन् ।
उनी हालै विराटनगरस्थित न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालका मेडिकल डाइरेक्टरको रूपमा कार्यरत छन् । मातृशिशू उपचारको क्षेत्रमा सक्रिय प्राध्यापक डा. क्षेत्रीसँग अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च)को सन्दर्भमा हेल्थ आवजका लागि प्रदेश १ का संयोजक रहेका अनिल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंशः
स्वास्थ्य क्षेत्रमा सक्रिय भएर लाग्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसलाई यहाँले कुन रूपमा लिनुहुन्छ ?
महिला समाजको खम्बा हो । त्यही भएर महिलाहरू आत्मनिर्भरसँगै, शिक्षित र स्वस्थ हुन जरूरी छ । महिला आत्मनिर्भरसँगै शिक्षित हुन सके मात्रै परिवारलाई सुखमयसँगै देश विकासमा पनि अगाडि बढ्दछ । त्यही भएर महिला स्वास्थ्यसँगै शिक्षित र आत्मनिर्भर हुन जरुरी छ । त्यससँगै महिला सशक्तिकरणका लागि पनि हामीले अगाडि बढ्ने प्रयत्न जारी राख्नुपर्छ । महिला आत्मनिर्भर, शिक्षित र स्वस्थ भएपछि सशक्तिकरणतर्फ अगाडि बढ्न सक्छन् । त्यसले समाजमा महिलालाई स्थापित हुन मद्दत पुग्छ । त्यसका लागि पनि महिलालाई आत्मनिर्भर, सक्षम, शिक्षित र स्वस्थ बनाउनेतर्फ सबैले भूमिका निर्वाह गर्नुपर्छ । भाषण दिवसमा मात्र होइन कि महिलाहरूलाई व्यवहारिक रुपमै सशक्तिकरण गर्न एकदमै जरुरी छ ।
तपाईंलाई अनुभवी चिकित्सक र प्रोफेसरको रूपमा चिनिनुहुन्छ । महिलाहरुमा देखिने स्वास्थ्य सम्बन्धी समस्याहरु कस्ता छन् ?
जन्मदादेखि महिलाहरूमा समस्या हुने गरेको छ । जन्मनुभन्दा अगाडि ‘सेक्स डिटामिनासेस’ गर्ने काम पनि हुने गरेको छ । जसले गर्दा महिला (छोरी) हुँदा गर्भपतन गर्ने गरेको हामीले देखेका छौं । जन्मिँदा पनि छोरी मान्छेले कति जोड गर्नुपर्ने अवस्थामा छ । जन्मिँदा महिला र पुरुषमा विभेद हुने गरेको छ । अझैपनि महिलाहरूलाई नपढाइदिनेलगायतका समस्याहरू छन् । आर्थिक रुपमा सशक्तीकरण पनि नभएको देखिन्छ । यस्तै समाजमा छिटो विवाह गरिदिने परिपाटी रहेको छ । जसले गर्दा स्वास्थ्यमा समस्या आउने गर्दछ । हामीले यिनै विषयहरुमा सचेतना फैलाउन जरुरी छ ।
१६ वर्ष काम गरेर विपी प्रतिष्ठानजस्तो प्रतिष्ठित संस्था छोडनुभयो । किन मदर एण्ड चाइल्ड हस्पिटल रोज्नुभयो ?
ठूलो सानो संस्था भन्ने हुँदैन । काम गर्ने मान्छेलाई जहाँ पनि काम हो । चिकित्सक पेशा भनेको सेवामूलक हो । जहाँ भएपनि हामीले सेवा दिनुपर्ने हुन्छ । सेवा सानो र ठूलो भन्ने हुँदैन । त्यसैले म अहिले यहाँ रहेर बिरामीहरुलाई सेवा प्रदान गरिरहेको छु । त्यसबाहेक अहिले मलाई काम गर्नका लागि यहाँ नै सहज छ, त्यसैले पनि म यहाँ आएको हुँ । त्यसमा पनि डा. वीरेन्द्र विष्टले कार्डियोलोजी, न्यूरो सर्जरी २० वर्षदेखि सुरु गर्दै आउनुभएको छ । त्यसबेलाको समयमा धेरै संस्थाहरुमा न्यूरो सर्जरीलगायतको सेवाहरु आएको थिएन । त्यसबेला यहाँका बिरामीहरू भारततर्फ जानुपर्ने बाध्यात्मक अवस्था थियो । हस्पिटलसँगै न्यूरो सर्जरी सेवाहरु सुचारु भएपछि यहाँका बिरामीले यही सेवा पाउने भए । अहिले म पनि यही संस्थामा आवद्ध भएर सेवा प्रदान गरिरहेकी छु ।
अहिले महिलाहरूमा सबैभन्दा बढी देखिने गरेका रोगहरूका बारेमा यहाँको अनुभव के छन् ?
फिजिकल रोगहरू त छँदैछन् । त्यसका अलावा मानसिक रोगहरु पनि छन् । फिजिकलमा सबैभन्दा बढी अहिले गाइनोका समस्याहरु छन् । अहिले प्रसुतीको केसमा पेटमा बच्चा आउँदादेखि नै महिलाहरुलाई धेरै जोखिम हुने गर्दछ । कुन महिलामा के समस्या हुन्छ भन्न सकिदैन् । जब महिलाले गर्भधारण गर्दछन् । त्यसबेलादेखि जोखिम हुने गर्दछ । एउटा प्रेग्नेन्सीकै समस्या रहेको छ । अर्को गर्भपतनको समस्या रहेको छ । त्यस्तै, अहिले बाँझोपनको पनि धेरै समस्या देखिएको छ । धेरै इन्फेक्सन भएर पनि बाँझोपन हुने गरेको छ । हाइजिन पनि नहुने, विवाह पनि छिटो हुने भएकोले बाँझोपनको समस्या हुने गरेको छ । अर्को गाइनोको समस्या भन्नु पर्दा पाठेघरको समस्या बढी छ । पाठेघरमा मासु पलाउने समस्यादेखि पाठेघर झर्ने समस्या, रक्तश्राव, पाठेघरको मुखको क्यान्सरको समस्या, स्तन क्यान्सको समस्याहरू आउने गरेका छन् ।
महिलाहरुमा पाठेघरका ट्युमर कसरी हुन्छ ?
पाठेघरमा मासु पलाउने समस्या धेरै हुने गरेको छ । हर्मोनले गर्दा यस्तो हुने गर्दछ । यसमा जेनेटिक रिक्स पनि हुने गर्दछ । ट्युमर भएपछि सबैलाई समस्या हुन्छ भन्ने छैन । यदि समस्या नभएर र ट्युमर सानो भएमा हामीले भिडियो ए–क्सरे गर्नु पर्दछ । यदि समस्या भएमा दुई थरीको उपचार हुने गर्दछ । एउटा औषधी गरेर र अर्को शल्यक्रिया गरेर । शल्यक्रियामा पाठेघर नचाहिने हो भने पाठेघर निकालेर पनि हुन्छ । पाठेघर चाहिएमा खाली त्यो मासुको डल्ला निकालेर पनि शल्यक्रिया हुने गर्दछ ।
महिनावारी हुँदा वा हुनुपूर्व तल्लो पेट पहिलेको भन्दा धेरै दुख्नु, महिनावारी समयमा नहुने वा छिटो—छिटो हुने, महिनावारी समयमा भइरहेको छ तर रक्तश्राव भने सामान्य दिनमा भन्दा बढी भइरहेको छ भने कतै पाठेघरमा ट्युमर पलाएको त छैन भनेर शंका गर्नु पर्दछ ।
ट्युमर देखिने बितिकै शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ?
कुनै पनि महिलाको पाठेघरमा ट्युमर देखा पर्दैमा त्यसको शल्यक्रिया गरिहाल्नु पर्दैन । ट्युमरको आकार, प्रकार तथा लक्षण तथा बिरामीलाई कत्तिको गाह्रो भएको छ त्यसको आधारमा मात्र शल्यक्रिया गरिने हुँदा चिकित्सकको परामर्श आवश्यक छ । यस्ता शल्यक्रिया व्यक्तिअनुसार पनि फरक हुने गर्दछ ।
कस्ता ट्युमर क्यान्सरजन्य हुन्छन् ?
सबै ट्युमर क्यान्सर हुँदैनन् । तर, कतिपय ट्युमर क्यान्सरजन्य हुँदैन भन्न पनि मिल्दैन् । विशेषगरी, किशोर—किशोरीमा देखिने ट्युमरमध्ये केही क्यासरजन्य ट्युमर हुन सक्ने भएकोले यसबारे विशेष सजगता अपनाउन जरुरी छ । कसै—कसैलाई महिनावारी सुक्ने बेलामा पनि पाठेघर तथा डिम्बाशयमा ट्युमर देखिन सक्छ । र, यस्ता ट्यूमर क्यान्सर हुनसक्छ भनेर विभिन्न अध्ययन अनुसन्धानहरुले समेत पुष्टि गरिसकेको अवस्था छ । त्यसैले पनि चिकित्सकको परामर्शमा यस्ता ट्युमर क्यान्सर हो कि हैन भनेर समयमा नै छुट्याउनु पर्दछ । त्यस्तै, यदि कुनै ट्युमर क्यान्सर हैन तर पनि बढ्दै गयो भने पनि त्यस्ता ट्युमरलाई झिक्न आवश्यक हुन्छ ।
पाठेघरमा ट्युमर हुनुको प्रमुख कारण के हो ?
वंशाणुगत कारण तथा महिलाहरुको शरीरमा इस्ट्रोजन हर्मोनको उत्पादन आवश्यताभन्दा बढी भएमा पनि पाठेघरमा ट्युमर पलाउन सक्छ । त्यस्तै, धुम्रपान तथा मदिरापानले पनि शरीरमा विभिन्न किसिमको क्यान्सर गराउन सक्ने हुँदा यसको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध पाठेघरको मुखको क्यान्सरसित पनि हुने गर्छ ।
यसको रोकथाम र उपचार विधि के हो ?
कुनै पनि महिलाको पाठेघरमा जटिल किसिमको ट्युमर देखिएमा त्यसको उपचार गर्नु भनेको उक्त ट्युमर निकाल्नु नै हो । नेपालमा प्रायः पाठेघरको ट्युमर देखिएमा पेट चिरेर शल्यक्रिया गर्ने गरिन्छ । जुन नेपालको पूरानो विधि पनि हो । त्यसबाहेक पेटमा स–साना प्वाँल पारेर गरिने ल्याप्रोस्कोपी सर्जरी अर्को प्रविधि हो । महिलाहरुको पाठेघरमा हुने ट्युमर पनि फरक हुने गर्दछ । ४० वर्ष कटिसकेका महिलाहरुको पाठेघरमा देखिने ट्युमर दुई किसिमको हुन्छ, फाइब्रोइड र एडिनोमायोसिस । सामान्यतयाः एडिनोमायोसिस नामक ट्युमर औषधीको सेवनद्धारा निको पार्न सकिन्छ । त्यस्तै, पाठेघरमा मेरिना (कपर्टी जस्तै साधन) राखेर पनि यस्ता ट्युमरको उपचार गर्न सकिन्छ ।
जबकी फाइब्रोसिस ट्युमर भएमा शल्यक्रियाद्वारा उपचार गर्नु पर्दछ । त्यस्तै, महिलाहरुको पाठेघरमा हुने अर्को ट्युमर भनेको डिम्बाशयको ट्युमर हो । यस्ता ट्युमर व्यक्तिअनुसार फरक हुने गर्दछन् । किशोरीहरुमा डिम्बासयमा मात्र नभई नलीको छेउमा समेत पेराफ्रिम्बल नामक ट्युमर आउन सक्दछ । औषधीको सेवनद्धारा ५–६ सेन्टीमिटरसम्मको यस्ता ट्युमर निको नभएमा दुरविनको माध्यमद्धारा पनि यस्ता ट्युमरलाई निकाल्नु पर्दछ । कहिलेकाही यस्ता ट्युमर नलीमा घुमेर जाने र त्यसको कारण नली नै कुहिएर नली तथा पाठेघर नै फाल्नु पर्ने अवस्था सिर्जना हुन सक्दछ । त्यसैले, यस्ता समस्याबाट जोगिनको लागि पनि यस प्रकारका ट्युमर देखिएमा अपरेशन गर्न आवश्यक छ । यसको लागि पाठेघरमा कुनै पनि ट्युमर देखा परेमा त्यो कस्तो ट्युमर हो र के कारणले आएको हो भनेर छुट्याउन आवश्यक छ । सामान्यतयाः आठ सेन्टिमिटरभन्दा सानो ट्युमर भएमा औषधी सेवनद्वारा पनि यस्ता ट्युमरको सहजै उपचार गर्न सकिन्छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
छोरी मान्छेले सबैभन्दा पहिले आफूलाई स्वस्थ राख्नुपर्दछ । परिवारलाई मात्र नहेरेर आफूलाई पनि स्वस्थ राख्ने र आफूलाई आत्मनिर्भर बनाएर बलियो बनाउनुपर्दछ । शारीरिक र मानसिक रुपमा आफू स्वस्थ हुनसक्यो भनेमात्र महिला समाजमा स्थापित हुन सक्दछ । त्यही भएर सबै महिलाहरु आत्मनिर्भर, शिक्षित र स्वस्थ रहनुपर्छ ।