विराटनगर—विराटनगरस्थित कोशी अस्पतालले डेढ महिना अगाडि स्टाफ नर्स नियुक्त गर्न सञ्चालन गरेको परीक्षाको नतिजा निकाल्न आलटाल गरेको छ । लामो समयदेखि रिक्त रहेको स्टाफ नर्सको दरबन्दी करार सेवामार्फत पदपूर्ति गर्न अस्पतालले २८ मंसिरमा विज्ञापन प्रकाशन गरेको थियो ।
अस्पतालले १२ जना स्टाफ नर्स माग गरेर २८ मंसिरमा सूचना निकालेपछि ४ सय ३९ जना प्रतियोगीहरुले आवेदन दिएका थिए । रिक्त दरबन्दीमा पदपूर्ति गर्ने उद्देश्यले अस्पतालले २५ पुसमा परीक्षा सञ्चालन गरेकोमा परीक्षाको नतिजा अझै प्रकाशन गरेको छैन ।
नतिजाको पर्खाइमा परीक्षार्थीहरु रहेको बेला परीक्षा नै खारेज गरी परीक्षार्थीसँग लिएको आवेदन शुल्क फिर्ता गर्नेतर्फ छलफल हुन थालेको छ । नतिजा प्रकाशन नभएपछि अस्पतालमा बुझ्न गएकी एक परीक्षार्थीले भनिन्, ‘रिजल्ट कहिले आउँछ भनेर सोध्न आएकी थिएँ । रिजल्ट कहिले आउँछ भन्न सकिदैन, परीक्षा नै खारेज हुनसक्छ भन्ने जवाफ पाएँ ।’
अस्पतालमा धेरै समयदेखि रिक्त रहेको दरबन्दीमा ६ महिनाका लागि करार सेवामा स्टाफ नर्स भर्ना गर्न खोजिएको थियो । २५ पुसमा परीक्षा सञ्चालन भएपछि एक साताभित्रै रिजल्ट तयार भइसकेको थियो । ३ माघभित्रै परीक्षा समितिमा रिजल्टको शिलबन्दी प्राप्त भएको बताइएको छ । सबै तयारी पूरा भएपनि मेडिकल सुपरिटेन्डेन्टले इच्छा नदेखाएकै कारण परीक्षाफल प्रकाशन हुन सकेको छैन ।
अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले रिक्त दरबन्दीमा सरकारले कर्मचारी खटाएर पठाउन थालेपछि के गर्ने भन्ने दुविधा भएको प्रतिक्रिया दिएका छन् । नेपाल सरकारको दरबन्दी रिक्त रहेकोले सरकारले कर्मचारी पठाएपछि कसरी करारमा नियुक्त गर्ने भन्ने समस्या अस्पताललाई परेको उनको दावी छ । ‘नेपाल सरकारको दरबन्दी खाली थियो । करार सेवामार्फत पदपूर्ति गर्न सूचना निकाल्यौं । तर, अहिले दरबन्दीकै स्टाफहरु आइरहेका छन्,’ उनले भने ‘त्यही कारणले गर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको हो । के गर्ने भनेर हामी सल्लाह गर्दैछौं ।’
स्रोतका अनुसार करार सेवामा स्टाफ नर्स माग गरेपछि सरकारले दुई जना कर्मचारी सरुवा गरेर पठाएको छ । अब अस्पतालमा १० जनाको दरबन्दी खाली छ । सूचनामा १२ जनाको आवश्यकता माग भई परीक्षा सञ्चालन भइसकेको अवस्थामा के गर्ने भन्ने समस्या अस्पताललाई परेको हो ।
रिक्त दरबन्दीमा पदपूर्ति गर्न अस्पतालले मेसु डा. चुमनलाल दास संयोजक रहेको पाँच सदस्यीय परीक्षा समिति गठन गरेको थियो । समितिमा अस्पताल सञ्चालक समितिका सदस्यद्वय देवा यादव र शिल्पा कार्की, मेट्रोन डा.मञ्जु यादव र डा.सुधीर श्रेष्ठ छन् । परीक्षाफल प्रकाशन गर्नका लागि पटक–पटक सदस्यहरुले बैठकको माग गरेपनि मेसु दासले बैठक बोलाकाए छैनन् ।
‘मेसुले नै इच्छा नगरेका कारण परीक्षा समितिको बैठक बस्न सकेको छैन,’ एक सदस्यले भने, ‘बैठक बसौं भन्यो भने उहाँ तर्किनु हुन्छ र रिजल्ट निकाल्न कुनै चासो दिइरहनुभएको छैन । त्यसको कारण पनि हामीले बुझ्न पाएका छैनौं ।’