शिशुका लागि आमाको दुधलाई पोषक तत्वको भण्डार मानिन्छ । जसकारण पुर्णरुपमा ६ महिनासम्म आमाले आफ्नो शिशुलाई स्तनपान गराउनुपर्छ । उचित स्तनपानको अभावमा शिशुमा रोग विरुद्ध लड्ने प्रतिरोध क्षमताको कमी हुनुका साथै यसले अन्य विभिन्न शारीरिक समस्याहरु निम्त्याउने सम्भावना प्रबल रहन्छ ।
यसका साथै यसले शिशुमा मात्र नभई उचित स्तनपानको अभाव आमामा हार्मोन असन्तुलनका कारण पोस्टपार्टम डिप्रेशनका साथै डिम्बग्रन्थी तथा स्तन क्यान्सरको समेत उच्च जोखिम रहन्छ । यसकारण पनि कुनै पनि आमाले आफ्ना शिशुलाई उचित रुपमा स्तनपान गराउनु जरुरी रहन्छ ।
सामान्यतयाः प्रसुतिपछि अधिकांश आमाको साझा समस्या भनेको आफ्ना शिशुलाई स्तनपान गराउनु हो । अधिकांश भर्खरै जन्मेका शिशुहरु एक भागको मात्रै स्तनपान गर्न रुचाउने र अर्कापट्टिको दुध चुस्न नरुचाउने हुन्छन् । प्रायजसोः शिशुहरु स्तनपान गर्न नमान्ने र गरेपनि एक साइडको मात्रै स्तनपान गर्न रुची राख्छन् । शिशुका यस्ता बानीले आमामा एक किसिमको तनाव त पैदा गर्छ नै यसको साथै यसले आमा शिशु दुवैलाई प्रतिकुल असर समेत गर्दछ ।
यद्यपि शिशुको यस बानीलाई सामान्य मानिन्छ। र उनीहरुको यस्तो बानीलाई हटाउन समेत सकिने भएकाले पनि यसबारे खासै चिन्तित रहनु पर्दैन । त्यसका लागि सर्वप्रथम त हामीले के कारणले शिशुहरु दुवै स्तनपान गर्न मानिरहेको छैनन् भन्ने कुरा जान्न एकदमै आवश्यक छ ।
कारणहरु
शिशुहरुले एकै भागको मात्र स्तनपान गर्न रुचाउने र अर्कापट्टिका स्तनपान नरुचाउने विविध कारणहरु रहेका छन् । साधारणतयाः निम्न कारणले शिशुले स्तनपानका लागि अस्वीकार गर्ने गर्छन्ः
- मस्टिटिसका कारण हुने दुधको परिवर्तित स्वाद,
- निप्पलको आकार र असहज स्थिति,
- कम दुध आउने भएकाले,
- स्तनमा कुनै समस्या भएमा वा आमाले पार गरिरहेको कुनै अन्य शारीरिक समस्या,
- र, केहि आमाहरु बच्चालाई आफ्नो दायाँ वा बाया भागमा मात्रै सहज महशुस गर्ने भएकाले ।
यी त रह्यो, शिशुले एक भागको मात्रै स्तनपान गर्न रुचाउने कारणहरु । यसका साथै अब हामीले शिशुलाई दुवै स्तनपान किन गराउनुपर्छ र नगराएमा यसले आमाशिशुमा के–कस्ता समस्या देखिन्छन् तर भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।
एउटा मात्रै स्तनपान गराउनाले शिशुलाई पर्याप्त दुधको कमी हुन जान्छ । जसकारण शिशु भोको रहने र अधिकांश रुइरहने गर्छन्, भने पर्याप्त दुधको अभावमा उनीहरुमा प्रतिरोध क्षमताको कमी समेत हुनजान्छ । यसबाहेक दुवै स्तनपान नगर्ने र नगराउने आमामा देखिने समस्याहरु निम्न छन्ः
- स्तनपान नगराएको स्तन सुक्दै जाने,
- असमान स्तनको आकार,
- दुध गानिएर अत्याधिक दुखाई हुने,
- निप्पलमा क्षति पुग्ने,
- अनावश्यक रुपमा स्वतः दुध बगिरहनु ।
यी कुराहरुलाई ध्यानमा राख्दै यस्त समस्याबाट बच्नका लागि भएपनि आमाले आफ्ना शिशुले दुवै स्तनपान गर्न किन खोजिरहेका छैनन् भन्ने कुरा पत्ता लगाई हामीले सो कारणलाई कम गर्ने प्रयास गर्नुपर्दछ ।
-एजेन्सीहरुको सहयोगमा