२०८१ कात्तिक ८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १भाइरल ज्वरोका बिरामीले अस्पताल भरिभराउ, ४० जनामा डेंगु देखियो

भाइरल ज्वरोका बिरामीले अस्पताल भरिभराउ, ४० जनामा डेंगु देखियो


विराटनगर–तराईमा अत्याधिक गर्मी बढेसँगै विराटनगरको अस्पतालमा भाइरल ज्वरोका बिरामीको संख्यामा बढेको छ । मौसममा आएको परिवर्तनको कारण भाइरल ज्वरोको बिरामीको संख्यामा वृद्धि भएको चिकित्सकहरूले बताएका छन् ।

विराटनगर महानगरपालिकामा रहेको कोशी अस्पताल, विराट नर्सिङ्ग होम, नोबेल मेडिकल कलेज, न्यूरोलगायतका अस्पतालमा भाइरल ज्वरो भएको विरामीको संख्यामा वृद्धि आएको हो । सबैभन्दा बढी कोशी अस्पतालमा बिरामीको छन् ।

कोशी अस्पतालको आकस्मिक कक्षमा भाइरल ज्वरोका बिरामीको चाप बढेकोे अस्पतालका डा. सङ्ज्ञा ज्ञवालीले बताए । उनका अनुसार अस्पतालमा दैनिक ३० बढी भाइरल ज्वरोका बिरामी आउने गरेको जानकारी दिए । ‘भाइरल ज्वरो आउँदा शरीर तातो हुने, धेरै ज्वरो आउने, टाउको र शरीर दुख्ने र वान्ता हुने लक्षण देखा पर्दछ,’ उनले भने । यसको लक्षण डेंगुसँग मिल्दोजुल्दो रहेको चिकित्सकको भनाइ रहेको छ ।

अस्पतालमा विगत दुई महिनाको अवधिमा दुई हजार ५ सय भन्दा बढी भाइरल ज्वरोका बिरामी आएर उपचार गराएको डा ज्ञवालीले जानकारी दिए । बिरामी भएर आउनेमा मोरङ, सुनसरीका सहरी र ग्रामीण क्षेत्रमा बसोबास गर्ने छन् । भाइरल ज्वरोबाट बच्न मास्कको प्रयोग गर्ने, धेरै भीड भएको ठाउँमा नजाने, झोल खानेकुरा बढी खाने र सरसफाइमा ध्यान दिनुपर्ने सल्लाह डा. ज्ञवालीले दिए ।

४० जना डेंगुका बिरामी

अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ४० जनामा डेंगुका संक्रमण देखिएको अस्पतालले जनाएको छ । अस्पतालमा डेंगु पहिचान गर्ने कीटको अभाव नरहेको डा. ज्ञवालीले जानकारी दिए । ‘ज्वरो आएको भन्दै अस्पतालमा उपचार गर्न आएका थिए,’ उनले भने, ‘उपचार भएकामध्ये ४० जनाको स्वास्थ्य परिक्षणमा डेंगुको संक्रमण देखियो । उनीहरूको उपचार भइरहेको छ ।’

कसरी बच्ने डेंगुबाट

डेंगु रोगबाट बच्न दिउँसो हिड्दा शरीर छोपिने कपडा लगाएर हिड्ने, घरको वरिपरि पानी जम्न नदिने र घरभित्र भाडा, बोतलमा पानी जमाएर नराख्ने, सुत्केरी भएका महिलाले आफू र बच्चालाई यो संक्रमणबाट बच्न झुलको प्रयोग गर्ने, धेरै मानिस आवतजावत हुने स्थानमा नजाने आदि सुझाव चिकित्सकले दिएका छन् ।

उच्च ज्वरो आउनु, शरीरका जोर्नी दुख्नु, आँखाका गेडी दुख्ने, शरीरमा रातो धब्बा देखिनु र वाकवाक लाग्ने भएमा डेंगुको संक्रमण भएको बुझ्नुपर्ने चिकित्सकको भनाइ छ । त्यस्तो लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर तत्कालै उपचार गराउनुपर्ने सल्लाह चिकित्सकको रहेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ