सुर्खेतको बराहताल गाउँपालिकामा अन्य विकासे गतिविधिसँगै स्वास्थ्यका क्षेत्रमा पनि परिवर्तन हुँदै गएको छ । हरेक नागरिकलाई स्वास्थ्य शिक्षासँगै उपचार सेवा दिन गाउँपालिका प्रयासरत छ । हरेक वडामा स्वास्थ्य संस्था स्थापनासँगै औषधि, उपकरण र जनशक्तिको व्यवस्थापन गरिएको छ । पहिलेको तुलनामा हाल नागरिकले सहज स्वास्थ्य सेवा पाएका छन् । स्वास्थ्य संस्थामा औषधि अभाव र स्वास्थ्यकर्मी नबस्ने समस्याको पनि अन्त्य भएको छ । विशेषगरी गाउँपालिका सुनौला हजार दिन अवधिका आमा र बच्चाको स्वास्थ्यप्रति गम्भिर बनेको गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्माले बताइन् । यसै विषयमा रहेर उनीसँग गरिएको कुराकानी :
सुनौला हजार दिन अवधिका आमा र बच्चाको स्वास्थ्य तथा पोषणका लागि पालिकाले के कस्ता कार्यक्रम संचालन गरेको छ ?
सुनौला हजार दिन अवधिका आमा र बच्चाको स्वास्थ्य अवस्था सुधारका लागि पालिकाले नियमित स्वास्थ्य चेकजाँच गर्छ । नियमित घरदैलो भेटघाट गर्ने र कोशेली दिने कार्यक्रम छ । स्वास्थ्यको अवस्था सुधारका लागि हजार दिने आमाहरुलाई लिटो तथा क्वाटी पनि वितरण गर्दै आएका छौं । अण्डा वितरण गर्नुका साथै आमा समूहमा पोषण सम्बन्धि शिक्षा पनि दिने गरेका छौं ।
महिला स्वास्थ्य स्वयंमसेविका आकस्मिक कोष आमा समूहसँग परिचालन हुने गरी प्रत्येक वडामा ५० हजारका दरले तयार गरिएको छ । यस्तै बराहताल गाउँपालिकाले महिलासँग उपाध्यक्ष भन्ने कार्यक्रम पनि संचालन गरेको छ । यस कार्यक्रम अन्तर्गत महिलासँग उपाध्यक्षको कुराकानी, भेटघाट र समस्या समाधानका लागि पहल गर्ने काम जारी छ । साथै पोषणसँग सम्बन्धीत कृषिका विभिन्न कार्यक्रमहरु पनि संचालन गरेका छौं ।
यस्ता कार्यक्रम संचालन गर्न किन जरुरी ठान्नुभयो ?
पहिलो कुरा स्वस्थ भएर बाँच्न पर्यो र कुपोषणबाट सबैलाई बचाउनुपर्यो । भविष्यको सक्षम नागरिक हुनलाई बराहताल गाउँपालिकाका बालबालिका अहिलेदेखि स्वस्थ हुनुपर्छ । अनी मात्रै दक्ष जनशक्ति उत्पादनसँगै विकास निर्माण र आर्थिक सम्वद्धि हुन्छ । आमा र बच्चाको नैर्सगिक अधिकारका कारण पनि यस्ता कार्यक्रम संचालन गर्न जरुरी छ । र राज्यको दायित्व पनि हो ।
यस्ता कार्यक्रमपछि स्वास्थ्य तथा पोषण अवस्थामा सुधार आयो त ?
पोषणका क्षेत्रमा गरेको लगानी तत्काल देखिदैन । हामीले अहिले पोषणमा गरेको लगानीले पछि ती बालबालिकाको शिक्षामा राम्रो हुनसक्छ । भने आमा स्वस्थ हुन्छन् । बच्चाको दिमागको सकरात्मक वृद्धि विकासले वाल बिबाह न्यूनिकरणमा सहयोग पुग्नेछ । घरेलु हिंसासँग पनि कुपोषणको चक्र जोडिने भएकाले यसको न्यूनिकरणमा सहयोग पुग्छ भन्ने अपेक्षा छ । तत्काल देखिने ठुलो परिवर्तन नभएपनि दिर्घकालिन परिवर्तन अवश्य हुन्छ । तर हालका लागि आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । यस्ता कार्यक्रम संचालनपछि उनीहरुमा चेतना स्तर बढेको छ । भने खानपानमा ध्यान बढेको छ ।
अन्त्यमा, स्वास्थ्य र पोषण क्षेत्रमा आगामी थप योजना केही छन् ?
अहिले त कोभिडले हामीलाई धेरै प्रभावित बनाएको छ । हामीले विभिन्न संगसंस्थासँग साझेधारी गरेर पोषण सुधारका लागि काम गरिरहेका छौं । बस्ती स्तरका बालकबालिका र आमा सबैलाई सुरक्षित गर्नलाई स्वाथ्यमा पहँच पुर्याएका छौं । प्रत्यक वडामा स्वाथ्य संस्था, गाउँघर क्लिनिक, सामुदायिक स्वाथ्य केन्द्र र गर्भ चेकजाँच तथा सुत्केरी गराउन बर्थिङ सेन्टरको लागि पनि पर्याप्त मात्रामा स्वास्थ्यका जनशक्ति तयार गरेका छौं । यसले गर्दा अब आगामी रणनीतिमा पोषण शिक्षा दिने नै हो ।
आधारभुत स्वास्थ्यका मापदण्ड पुरा भएकाले अब ज्ञान तथा चेतना अभिवृद्धि आवश्यक छ । शिक्षा, स्वास्थ्य र कृषिलाईसँगै जोडेर समुदाय स्तरका गर्भवती, सुत्केरी लगायतका आम नागरिकको चेतना स्तरमा सुधार ल्याउनेछौं । यसले गर्दा पनि पोषण स्थितीमा सुधार आउछ भन्ने अपेक्षा छ ।