सुर्खेत– जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको प्रशासनिक भवन उद्घाटन भएको छ । बुधबार कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कलौनी र सामाजिक विकास मन्त्री दल रावल, कर्णाली स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काको उपस्थितीमा भवनको उद्घाटन भएको हो ।
संघीय सरकार मार्फत विनियोजित रकमबाट भवन डिभिजन कार्यालय जुम्लाले सो कार्यालय निर्माण गरेको थियो । उक्त भवन २ करोड ९७ लाख ९१ हजार रुपैयाँ लागतमा निर्माण भएको स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै, कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कलौनीले कर्णाली सम्भावना बोकेको प्रदेश भएकाले यहाँको समस्यालाई नजिकबाट बुझ्ने मौका पाएको बताए ।
यस्तै स्वास्थ्य संरचना र स्वास्थ्यको जनशक्तिले निकै पछि रहेको कर्णाली प्रदेशमा आफ्नो दुई वर्षको कार्यकालमा निकै अगाडी बढ्नुका साथै संघ सरकारले प्रशंसा समेत गरेको सामाजिक विकास मन्त्री दल रावलले बताए । अबको थप दुई वर्षमा हुम्लालाई २५ शैय्याको अस्पतालबाट ५० शैय्याको अस्पतालमा रुपान्तरण गर्ने मन्त्री रावलले बताए ।