सुर्खेत– पछिल्लो समय कर्णालीमा डेंगुको संक्रमण ह्वात्तै बढेको छ । एक महिना यता कर्णालीमा डेंगुको प्रकोप दिनप्रतिदिन बढ्दै गएको हो ।
एक महिना यता सुर्खेतका मात्रै ४ सय १७ जनालाई डेंगुको संक्रमण भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सुर्खेतमा देखिएको कुल संक्रमित मध्ये सुर्खेतका ३ सय ३ जना, दैलेखका ६ जना, जाजरकोटका ३ जना, सल्यानका ४ जना र रुकुमपश्चिमका १ जनामा डेंगु संक्रमण देखा परेको छ । संक्रमितहरु लामो समयदेखि सुर्खेतमै बसोबास गर्दै आएका छन् । कुल संक्रमितमध्ये ३ सय ४९ जनालाई पछिल्लो दुई हप्ताको अवधिमा संक्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।
वीरेन्द्रनगरमा डेंगूको संक्रमण तीव्र देखिएपछि स्थानीय त्रसित बनेका छन् । यतिखेर लामखुट्टेको संख्या वृद्धिका लागि उपयुक्त मौसम भएका कारण पनि डेंगुको संक्रमण तीव्र रुपमा फैलिएको अनुमान छ । तथ्यांक संकलन कार्य जारी रहेकाले डेंगू संक्रमितको संख्या थप बढ्न सक्ने महामारी रोग फोकल पर्सन उदयबहादुर विसीले जानकारी दिए ।
उनका अनुसार अधिकांशलाई पहिलो पटक र केहीलाई दोस्रो पटक डेंगु देखिएको छ । सुर्खेतमा डेंगूको संक्रमण फैलिन थालेपछि जनस्वास्थ्य सेवा कार्यालयले वीरेन्द्रनगरका विभिन्न अस्पताल तथा क्लिनिकहरुबाट संक्रमितको पूर्ण तथ्यांक संकलन गर्न थालेको हो ।
डेंगुको संक्रमण फैलिएपछि वीरेन्द्रनगरका नर्सिङ होम तथा मेडिकलमा बिरामीको चाप पनि बढेको छ । प्रदेश अस्पताल सुर्खेतका फिजिसिएन डा. केएन पौडेलका अनुसार कोरोनासँग मिल्दाजुल्दा लक्षण भएपछि उपचारका लागि आउने अधिकांश बिरामीलाई डेंगु पत्ता लागेको हो ।
वीरेन्द्रनगरमा डेंगु संक्रमित बढ्न थालेपछि जनस्वास्थ्य सेवा कार्यालय र वीरेन्द्रनगर नगरपालिकाले पानी जम्मा हुने खाल्डाखुल्डी, सार्वजनिक स्थान तथा लामखुट्टेको सम्भावित बासस्थानमा सरसफाइ गरिरहेका छन् ।