२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनाबाट नेपालमा एक हजारको मृत्यु, ५७ प्रतिशत ६० वर्ष माथिका (कुन उमेरका कतिको मृत्यु?)

कोरोनाबाट नेपालमा एक हजारको मृत्यु, ५७ प्रतिशत ६० वर्ष माथिका (कुन उमेरका कतिको मृत्यु?)


काठमाडौं– नेपालमा कोभिड–१९ का कारण ६० वर्षभन्दा माथिका ५ सय ७५ जना अर्थात् ५७ दशमलव २७ प्रतिशत वृद्धवृद्धाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १८ असोजसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी ६० वर्षभन्दा माथिका मानिसले कोभिडका कारण ज्यान गुमाएको देखिन्छ । यो सँगै नेपालमा १ हजार ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसपछि ५१ देखि ५९ वर्ष उमेरसमुहका १ सय ३५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यस्तै, ४१ देखि ५० वर्ष उमेरसमुहका १ सय २८ जना, ३१ देखि ४० वर्ष उमेरसमुहका १ सय २ जना, २१ देखि ३० वर्ष उमेर समुहका ३७ जना, ११ देखि २० वर्ष उमेरसमुहका १५ जना, ५ दिनदेखि १० वर्षसम्म ११ जना र उमेर नखुलेको १ जनाले ज्यान गुमाएका छन् ।

आखिर ६० वर्षभन्दा माथिका कोरोना संक्रमितको बढी मृत्यु हुनुको कारण के हो ? टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला मधुमेह, दम र मोटोपना भएका कोरोना संक्रमित व्यक्तिहरुलाई बढी असर गरेको बताउँछन् । ‘मधुमेह, दम भएका वृद्धवृद्धालाई कोरोनाले बढी चापेको छ,’ उनी भन्छन्, ‘त्यसैले यो उमेरसमूहका मानिसको मृत्यु संख्या बढी देखिएको हो ।’

यस्तै, कोरोनाका कारण ३१ देखि ४० वर्ष उमेरसमुहका १ सय २ जनाको मृत्यु भएको छ । यसमा मोटोपना र मधुमेहका समस्या भएका मानिसहरुको ज्यान गइरहेको बास्तोला बताउँछन् । होम आइसोलेसनमा बसेर समयमै अस्पताल नआउँदा पनि मृत्यु हुनेको संख्या बढ्दै गएको उनको ठम्याइ छ ।

कुन उमेर समुहका कतिकाे मृत्यु ?

५ दिनदेखि १० वर्षसम्मः ११ जना

११ देखि २० वर्षसम्मः १५ जना

२१ देखि ३० वर्षसम्मः ३७ जना

३१ देखि ४० वर्षसम्मः १०२ जना

४१ देखि ५० वर्षसम्मः १२८ जना

५१ देखि ५९ वर्षसम्मः १३५ जना

६० वर्षभन्दा माथिः ५७५ जना

उमेर नखुलेकोः १ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ