काठमाडौं—विगत चार महिनामा मुलुकभर ५९० जनाको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु भएकामध्ये अधिकांश ५० वर्षदेखि माथि उमेर समूहका छन् ।
कोरोनाबाट मृत्यु भएका ६० देखि ८० वर्षका मात्रै २७० जना छन् । चिकित्सकहरुले संक्रमण समुदायमा फैलिएपछि वृद्धवृद्धाको मृत्यु संख्या बढेको बताएका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट वृद्धवृद्धालाई जोगाउन आवश्यक भएको बताए । उनले अनावश्यक रुपमा काम नपरी घरबाट बाहिर ननिस्कन र वृद्धवृद्धाको छेउमा जानै पर मास्क र २ मिटर परैबाट बोल्न अनुरोध गरेका छन् ।
नेपालमा ४ जेठमा पहिलो पटक कोरोनाबाट एक सुत्केरी महिलाको मृत्यु भएको थियो । दोस्रो मृत्यु ८ गते, तेस्रो मृत्यु १० गते, चौथो मृत्यु १२ गते, पाँचौ मृत्यु १५ गते र त्यस पछि दैनिक रुपमा मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ । २५ जेठमा एकै दिन २ जनाको मृत्यु भएको थियो । त्यसैगरी, ९ साउनमा ३ जना र २१ साउनमा ५ जनाको मृत्यु भएको थियो । यता २८ साउनमा ६ जनाको मृत्यु भएको थियो । ५ भदौंदेखि भने दैनिक औसतमा १२ जनाको मृत्यु भइरहेको छ ।
नेपालमा ५ दिनको शिशुदेखि १०८ वर्ष उमेर समूहका व्यक्तिको कोरोनाबाट मृत्यु भएको छ । चिकित्सकहरुले कोरोना भाइरसको संक्रमण जुनसुकै उमेर समूहका मानिसमा देखिन सक्ने र यसले मृत्यु समेत गराउन सक्ने बताएका छन् । टेकु अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाका अनुसार सामान्यतयाः अन्य उमेरसमूहको तुलनामा वृद्धवृद्धा कोभिड–१९ को संक्रमणबाट छिटो प्रभावित हुन्छन् ।
उमेर ढल्किँदै जाँदा रोग प्रतिरोधी क्षमतामा पनि बिस्तारै कमी आउने भएकाले भाइरसको संक्रमण वृद्धवृद्धा र दीर्घ रोगका बिरामीमा छिटो हुन्छ । शरीरको प्रतिरोधी क्षमताले भाइरससँग लड्न नसक्ने भएकाले सामान्य भाइरसले पनि स्वास्थ्यलाई प्रभावित गर्छ ।
डा. बास्तोलाका अनुसार वृद्धवृद्धाको अगाडि खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्ने, बिरामीले सकेसम्म टाढा बस्ने, खानेकुरा वा अन्य वस्तु छोएपछि साबुन पानीले राम्रोसँग हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।
सरकारको तथ्यांकअनुसार हाल मृत्यु भएकामध्ये आधिकांश वृद्धवृद्धा त्यसमा पनि दीर्घ रोग भएकाहरु बढी छन् । डा. बाँस्तोला भन्छन्, ‘मुटु, फोक्सोसम्बन्धी रोग, मधुमेह, क्यान्सर र उच्च रक्तचापजस्ता समस्या भएका व्यक्तिमा अन्यको तुलनामा संक्रमण छिटो हुन्छ । अझ कोरोनाको मात्रै संक्रमणलाई हेर्दा मधुमेह, उच्च रक्तचाप, दम र मोटोपन भएकाहरु बढी समस्यामा परेका छन् ।’ तथ्यांक अनुसार मृत्यु पनि यिनै समस्या भएका बढी छन् ।
‘कोरोनाको उच्च जोखिममा ३० वर्षका व्यक्तिहरु पनि देखिएका छन्,’ डा. बास्तोलाले भने, ‘नम्बरका आधारमा हेर्ने हो भने ४० वर्षबाट संख्या बढ्दैं गएर ६० माथि पिक लिएको छ ।’ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना संक्रमितमध्ये ८० प्रतिशत सामान्य अवस्थाका हुनेछन् । १५ प्रतिशत लक्षण भएका र ५ प्रतिशत गम्भीर अवस्थामा पुग्ने छन् ।