काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले काठमाडौं बाहिरका संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शीघ्र उपचारका लागि काठमाडौं ल्याउन आकस्मिक हेलिकप्टरको व्यवस्था गर्न माग गरेको छ । शुक्रबार स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई ज्ञापनपत्र बुझाउँदैं संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले उक्त माग गरेका हुन् ।
९ बुँदे ज्ञापनपत्र बुझाउँदै संघले कोरोना नियन्त्रणमा खटिएका चिकित्सक स्वयंम संक्रमित भएर मृत्यु भएमा १ करोड रुपैयाँसम्मको बिमा रकम भुक्तानीको सुनिश्तता गर्न र संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको उपचार खर्चलगायतको सम्पूर्ण व्यवस्थापन नेपाल सरकारले गर्न पनि माग गरेको छ ।
संघले मेडिकल काउन्सिलको निर्देशिकामा भएका औषधिहरु इन्जेक्सन रेम्डेसिभिरलगायतका कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन, आईसीयु वेडहरु र जनरल बेडहरु वृद्धि गर्नुपर्ने, विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार स्वास्थ्य संस्थाहरुमा संक्रमण व्यवस्थापन सम्बन्धि ठोस रणनीति तय गरेर कार्यन्वयन गर्नुपर्ने, चिकित्सकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गर्नुपर्ने माग गरेको छ ।
यस्तै, कोभिड—१९ बाट संक्रमित चिकित्सकको उपचार व्यवस्थापनका लागि मन्त्रालयमा छुट्टै शाखाको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य संस्थामा भिड बढ्दैं गएका कारण पूर्व निर्धारित समय लिने व्यवस्था कडाइपूर्वक लागु गर्नुपर्ने, स्वास्थ्यकर्मीलाई भेन्टिलेटर आईसीयु सन्चालन गर्न तालिमको व्यवस्था गर्नुपर्ने, समुदायमा कोभिड—१९ रोकथाम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न समेत माग गरेको छ ।