२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा पुरुषभन्दा महिला बढी तनावमा

नेपालमा पुरुषभन्दा महिला बढी तनावमा


काठमाडौं– नेपालमा पुरुषको तुलनामा महिला बढी तनावमा हुने गरेको एक सर्वेक्षणले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नेपाल स्टेप सर्वेक्षण, २०१९ को तथ्यांकमा पुरुषको तुलनामा महिला बढी तनावमा हुने गरेको पाइएको छ ।

१५ देखि ६९ वर्ष उमेर समूहका ५ हजार ५ सय ९३ जना मानिसमा गरिएको सर्वेक्षणका दुई वटा शीर्षकमा महिला बढी तनाव हुने गरेको पाइएको हो । सहभागीमध्ये ६२ दशमलव ३ प्रतिशत मानिस घरमा हुने सामान्य तनावमा हुन्छन् । जसमध्ये महिला ६४ दशमलव ६ प्रतिशत तनावमा रहन्छन् भने ६२ दशमलव ३ प्रतिशत पुरुष घरायसी तनावबाट ग्रसित हुने गरेका छन् ।

यस्तै, कतिपयमा भने विगतमा भएका तनावपूर्ण घटनाहरुका कारण धेरै तनाव हुने गरेको पाइएको छ । त्यस्ता घटनाबाट ११ दशमलव ३ प्रतिशत मानिसहरु तनावमा रहने तथ्यांकमा उल्लेख छ । यसमा पनि पुरुषभन्दा महिला बढी तनावमा हुने गर्छन् । जसमा ११ दशमलव ३ प्रतिशत पुरुष छन् भने ११ दशमलव ६ प्रतिशत महिला रहेका छन् ।

नेपालमा ६१ दशमलव ५ प्रतिशत नेपाली काम तथा व्यवसाय सम्बन्धि तनावबाट ग्रसित हुने गरेका छन् । जसमा पुरुष ६३ दशमलव ७ प्रतिशत छन् भने ५९ दशमलव ६ प्रतिशत महिला काम तथा व्यवसाय सम्बन्धि तनावबाट पीडित छन् ।

आखिर पुरुषको तुलनामा महिलाहरु किन बढी तनावमा हुन्छन् ? मानसिक अस्पतालका वरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारी महिलाहरु बायोलोजिकल र सोसियल दुई कारणले बढी तनावमा हुने गरेको बताउँछन् । ‘तनावसँग सम्बन्धि समस्या पुरुषको तुलनामा महिलालाई नै बढी हुन्छ । त्यसलाई सामाजिक र बायोलोजीकल कुराहरुले प्रभाव पारेको हुन्छ,’ उनले भने, ‘पारिवारिक भूमिका महिलामा बढी हुने, बाहिरी काम र घरपरिवार दुवै सम्हाल्नुपर्ने तर अधिकारमा कमीजस्ता सामाजिक कारणले महिलाहरु तनावमा हुन्छन् भने कतिपय अवस्थामा हर्मोनको गडबडी र सहन गर्न सक्ने क्षमताको कमीका कारण पनि महिलामा डिप्रेसन, एन्जाइटीजस्ता मानसिक समस्या बढी देखिन्छ ।’

यस्ता खाले मानसिक तनावबाट छुटकारा गराउनका लागि महिलालाई सम्पत्तिको अधिकार, घरमा सम्मानको वातारवरण, घरभित्रका काममा पुरुषले साथ दिने, महिलालाई सामाजिक आर्थिक स्वामित्व दिने, सासु–ससुराले बुहारीमाथि गर्ने व्यवहार परिवर्तन गर्ने र महिलालाई आत्मनिर्भर बनाउन सकिने डा. अधिकारी बताउँछन् । ‘सामाजिक तत्वलाई परिमार्जन गर्दै महिलाहरुले पनि आफ्नो व्यवहारमा परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘महिलाहरुले तनावबाट मुक्त हुनका लागि अनावश्यक कुरा मनमा नलिने, शारीरिक व्यायाम, योग, ध्यान गरेर पनि तनाव कम गर्न सकिन्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ