काठमाडौं—भिमसेनगोलाका ज्ञानबहादुर लामाका न त कोही आफन्तमा क्यान्सर थियो । न त उनी आफैलाई पनि ब्रेस्ट क्यान्सर होला भन्ने अनुमान । नियमित एक्साइज गर्ने र मदिरा तथा सूर्तिजन्य पदार्थ पनि सेवन नगर्ने । त्यसैले उनलाई त्यो अनुमान नहुनु पनि स्वभाविक नै हो । अर्कोतर्फ ब्रेस्ट क्यान्सर एकदमै न्यून अर्थात समग्र पुरुष जनसंख्याको झण्डै १ प्रतिशतलाई मात्रै हुन्छ ।
त्यही कारण उनले आफूलाई ब्रेस्ट क्यान्सर होला भनेर कल्पना समेत गरेका थिएनन् । न त उनमा कुनै त्यस्ता लक्षणहरु नै देखिएका थिए । तर, दोलखा स्थायी घर भएका ५७ वर्षीय ज्ञानबहादुरमा कहिल्यै कल्पना नगरेको त्यही ब्रेस्ट क्यान्सर देखियो । गत जेठमा उनी छिमेकी बिरामी भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएपछि कुर्नका लागि अस्पताल गएका थिए । त्यही बेला पहिलो पटक उनको टिसर्टमा ब्रेस्टबाट निस्केको रगतको थोपा देखियो । त्यसलाई सफा गरे । केही घण्टा नबित्दैं फेरि ब्रेस्टबाट रगतको अर्को थोपा निस्किएपछि उनको टिसर्टमा त्यसको दाग बस्यो ।
टिसर्टमा देखिएको रगतको दाग शिक्षणमै काम गर्ने उनकी छिमेकी बहिनीले देखिन् । उनले ज्ञानबहादुरलाई तत्कालै परीक्षण गर्नका लागि झकझकाइन् । ती बहिनीकै करकापमा उनले त्रिवि शिक्षण अस्पतालमा परीक्षण सुरु गरे । बायोस्पीलगायतका सबै परीक्षण गरेपछि उनको दायाँ ब्रेस्टमा क्यान्सर देखियो ।
हुनत सन् २०१७ मै उनमा दायाँ ब्रेस्टबाट पानीको थोपा निस्किएको थियो । त्यतिबेला पनि उनले परीक्षण गराएका थिए । तर, त्यतिबेला उनको सबै परीक्षण गर्दा क्यान्सर देखिएको थिएन् । ‘चिरायु र ग्राण्डीमा परीक्षण गराए । तर, केही थिएन् । डा.साबहरुले सानो रौंजस्तो ब्रेस्टमा देखिएको छ । केही हुँदैन भन्नुभएको थियो,’ उनी सुनाउँछन्, ‘तर, पहिलो लकडाउनको डेढ महिनामै ब्रेस्ट क्यान्सर देखियो ।’
त्रिवि शिक्षण अस्पतालकी ब्रेस्ट क्यान्सर सर्जन डा. सुजिता हिराचनले ज्ञानबहादुरका रिपोर्टहरु हेरिन् । उनको क्यान्सर पहिलो स्टेजमा रहेको देखियो । डा. सुजिताले ज्ञानबहादुरलाई शल्यक्रिया गर्नुपर्ने बताइन् । कोभिड—१९ का कारण अस्पतालमा आकस्मिकबाहेकका लगभग सबै शल्यक्रियाहरु रोकिएका थिए । अब के गर्ने ? ज्ञानबहादुर बिलखबन्दमा परे । उनले डा. सुजितालगायतको टोलीसँग आग्रह गरेपछि उनको शल्यक्रिया गर्ने तय भयो ।
३० असारमा डा. सुजितासहितको टोलीले उनको ब्रेस्ट क्यान्सरको शल्यक्रिया ग¥यो । ‘डा. साबले सजिलै छ, एक घण्टामै सकिन्छ भन्नुभएको थियो तर मेरो शल्यक्रियामा दुई घण्टाजति लाग्यो,’ ज्ञानबहादुर भन्छन्, ‘एक्कासी ब्रेस्ट क्यान्सर देखियो, यस्तो होला भनेर कहिल्यै कल्पना नै गरेको थिइन् ।’ डा. सुजितालगायतको टोलीले कोभिड—१९ को कहरकै बीच शल्यक्रिया गरेर आफूलाई ठूलो गुन लगाएको उनी बताउँछन् ।
ब्रेस्ट क्यान्सरको शल्यक्रियापछि अहिले ज्ञानबहादुर स्वास्थ्यलाभ गराइरहेका छन् । डा. रक्षा श्रेष्ठले उनलाई हेरिरहेकी छन् । उनलाई अहिलेसम्म ४ वटा केमो दिइएको छ भने ४ वटा केमो दिन बाँकी छ । ४ वर्षअघि पेटको क्यान्सरबाट उनले श्रीमती गुमाए । उनकै उपचारमा सबै जायजेथा सकिएको उनी बताउँछन् । अहिले उनी एक्लै डेरामा बसिरहेका छन्, उनको एकमात्र छोरा जेठी सासुले हेरिरहेकी छन् । आर्थिक रुपमा पनि एकदमै समस्या रहेको उनले बताए । ‘अहिलेसम्म सबै साथीभाइहरुकै सहयोगको भरमा चलिरहेको छु,’ उनले भने, ‘केही सहयोग सरकारले गर्दोरहेछ । नत्र आर्थिक रुपमा निकै समस्या नै छ ।’
ज्ञानबहादुर ब्रेस्ट क्यान्सर पुरुषलाई पनि हुन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिन सुझाव दिन्छन् । ‘छातीमा केही तलमाथि हुने बितिकै डाक्टरसँग चेकजाँच गराउनुहोला,’ उनी भन्छन्, ‘आफ्नो स्वास्थ्यलाई खेलाची चाहिँ नगर्नुहोस् ।’ उनी पुरुषलाई ब्रेष्ट क्यान्सर हुँदैन भन्ने भ्रममा नपर्न पनि अनुरोध गर्छन् ।
संसारमै समग्र पुरुष जनसंख्याको १ प्रतिशत पुरुषमा देखिने ब्रेस्ट क्यान्सरबाट पीडित ज्ञानबहादुर त एक प्रतिनिधी पात्र मात्रै हुन् । महिलाहरुलाई बढी सताउने ब्रेष्ट क्यान्सर पुरुष देखिन थालेको घटनाक्रमहरुले देखाउँछ । त्रिवि शिक्षण अस्पतालमा मात्रै पछिल्ला केही महिनामै झण्डै आधा दर्जन ब्रेस्ट क्यान्सरका बिरामीको उपचार भएको छ ।
मानिसको मृत्युको मुख्य कारणमध्ये क्यान्सरलाई पनि एक मानिन्छ । ग्लोबोक्यानको एक तथ्यांकअनुसार सन् २०१८ सम्म नेपालमा क्यान्सरबाट ४३ हजार ८ सय १६ जना पीडित थिए । जसमध्ये नयाँ केस २६ हजार १ सय ८४ रहेका थिए भने मृत्यु हुनेको संख्या १९ हजार ४ सय १३ रहेको थियो । उक्त आँकडामा ब्रेस्ट क्यान्सर तेस्रो नम्बरमा थियो । ब्रेस्ट क्यान्सरबाट पीडित १३.५ प्रतिशत रहेका थिए ।
क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालकाअनुसार क्यान्सर रोगको उपचार शल्यक्रिया, केमो थेरापी, रेडियो थेरापी र हर्मोनल थेरापीबाट गरिन्छ । उनी नेपालीका लागि क्यान्सरको उपचार पद्धति पनि महंगो पर्ने बताउँछन् । ‘ब्रेस्ट क्यान्सर पनि क्यान्सरकै एक रुप हो । क्यान्सरको औषधिहरु एकदमै महंगो हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले यसको उपचार महंगो पर्न जान्छ ।’
त्रिवि शिक्षण अस्पतालकी सर्जन डा. सुजिता ब्रेस्ट क्यान्सरबाट पुरुषको तुलनामा महिला बढी प्रभावित रहेपनि पुरुषमा पनि यो क्यान्सर देखिन सक्ने सम्भावना रहेकाले सतर्क रहन सुझाव दिन्छिन् । ‘ब्रेस्ट क्यान्सर बढी महिलामा देखिन्छ । तर, पुरुषमा नदेखिने भन्ने होइन्, कुल पुरुषको संख्याको झण्डै १ प्रतिशत पुरुषमा ब्रेस्ट क्यान्सर देखिने गरेको अनुसन्धानले देखाउँछ,’ उनी भन्छिन्, ‘त्यसकारण सबैले उतिकै सचेत रहनुपर्ने आवश्यकता छ ।’ उनकाअनुसार ब्रेस्ट क्यान्सर सम्बन्धि जानकारी हासिल गर्ने, आफ्नो स्तन आफै जाँच गर्ने, शंका लागेमा चिकित्सकलाई देखाउने, लाज मानेर लुकाएर नराख्ने, यस सम्बन्धित उत्प्रेरणा दिनेजस्ता कामहरु नेपालमा आवश्यक देखिन्छन् ।
चिकित्सकहरुकाअनुसार ब्रेस्ट क्यान्सर हुँदा स्तनको छाला सुन्तलाको ब्रोकाजस्तै हुँदैं जाने, स्तनमा बिना कारण घाउ देखा पर्ने, स्तनको मुन्टो भिन छिर्ने, मुन्टोबाट रगत वा दूधजस्तो बग्ने, छाम्दा स्तनमा गाठोजस्तो भेटिने र स्तनको छाला भित्र छिरेर खाल्टो परेकोजस्तो देखिने लक्षणहरु हुन्छन् । डा. सुजिताकाअनुसार सँगै बस्दा, एउटै थालमा खाँदा, एउटै लुगा कपडा लगाउँदा, सँगै सुत्दा, चुम्बन तथा यौन सम्पर्क गर्दा ब्रेस्ट क्यान्सर सर्दैन् ।