काठमाडौं– नेपालमा २८.९ प्रतिशत मानिसले धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोग सम्बन्धि जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वेक्षण)ले यस्तो तथ्यांक देखाएको हो ।
स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार सो सर्वेक्षणको विवरण सार्वजनिक गरेको हो । परिषद्ले देशभरका १५ देखि ५९ वर्ष उमेर समूहका वयस्कहरुमा उक्त सर्वेक्षण गरेको थियो । ५ वर्षको अवधिमा गरिने योे सर्वेक्षणमा ५ हजार ५ सय ९३ जनाले सहभागिता जनाएका थिए । हाल सूर्तिजन्य पदार्थ (धुम्रपान वा धुँवारहित) सेवन गर्ने २८.९ प्रतिशत रहेका छन् । जसमध्ये पुरुष ४८.३ प्रतिशत र ११.६ प्रतिशत महिलाले सूर्तिजन्य पदार्थ सेवन गर्छन् ।
यस्तै, २४.१ प्रतिशतले दैनिक सूर्तिजन्य पदार्थ सेवन गर्दै आएका छन् । जसमा पुरुष ४०.१ र महिला १० प्रतिशत रहेका छन् । यसैगरी, १७.१ प्रतिशतले धुम्रपान गर्दै आएको सर्वेक्षणले देखाएको छ । जसमध्ये १३.३ प्रतिशतले दैनिक धुम्रपान सेवन गर्ने गरेका छन् ।
नेपालमा १४.८ प्रतिशत मानिसले चुरोट अर्थात हातले बेरेको चुरोट सेवन गर्ने गरेको पाइएको छ । धुवाँरहित सूर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या १८.३ प्रतिशत रहेको छ भने १५.३ प्रतिशतले दैनिक धुँवारहित सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेका छन् । ०.८ प्रतिशत पुरुषहरु दैनिक रुपमा विद्युतीय चुरोट सेवन गर्दै आएको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणमा बानी व्यवहार सम्बन्धि (मदिरा, आहार, शारीरिक क्रियाकलाप) विवरणहरु संकलन गरिएको थियो । मोटोपन र उच्च रक्तचापको व्यापकता पत्ता लगाउन उचाइ, तौल र रक्तचापजस्ता शारीरिक मापन गरिएको थियो । त्यसैगरी, रगतमा चिनी र कोलेस्ट्रोलको मात्रा पत्ता लगाउन बायोकेमिकल मापनहरु संकलन गरिएको थियो ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले नसर्ने रोगलाई कम गर्न जीवनशैली परिवर्तन गर्ने नीतिमा जोड दिनुपर्ने बताए । उनले अहिले कोभिड—१९ ले पनि नसर्ने रोग लागेको व्यक्तिमा बढी क्षति पु¥याएको बताउँदैं सर्ने र नसर्ने रोग सधैं जोडिने उल्लेख गरे ।
त्यसैगरी, स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्कीले विगतका वर्षभन्दा नसर्ने रोगका कारक तत्वमा परिवर्तन नआएको बताए । उनले नसर्ने रोग नियन्त्रणका लागि सरकारले लिएको नीतिमा कही न कही समस्या भएको उल्लेख गर्दै त्यसलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए । ‘नसर्ने रोगका विषयमा सबैजना संवेदनशील देखिन्छन्, तर कार्यन्वयन भने भएको देखिदैंन्,’ डा. कार्कीले भने, ‘सबै संवेदनशील भएका बेला नीति निर्माताहरुलाई हिट गर्नुपर्ने बेला भएको छ ।’
परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले परिषद्बाट हुने गरेका यस्ता सर्वेक्षणले सरकारलाई नीति निर्माण गर्नका लागि सहज हुने बताए ।
अध्ययन/अनुसन्धानबाट आएका तथ्यपरक कुरामा आधारित भएर बनाइएका नीति नियमले जनस्वास्थ्यमा दीर्घकालीन असर पु¥याउने उनको दावी थियो । स्टेप सर्वेमा विगतको भन्दा केही फरक तरिकाले गरिएको र यसपटक नेपालीहरुको नुन सेवनका विषयमा आएको तथ्यांक गम्भीर भएको उनले बताए । ‘नुन सेवनका विषयमा अहिलेसम्म हामीसँग कुनै पनि नीति नियम छैन्,’ यो सर्वेले सरकारलाई त्यस विषयमा सोच्नका लागि झकझकाएको छ । र हामीले पनि के गर्ने भन्ने विषयमा स्पष्ट रुपमा लेखेर सरकारलाई बुझाउँदैंछौं ।’