२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमुटु रोगको रोकथामः यसतर्फ ध्यान केन्द्रीत गरौं

मुटु रोगको रोकथामः यसतर्फ ध्यान केन्द्रीत गरौं

विश्व मुटु दिवस


मुटु रोग सामान्य हिसाबले तीन प्रकारका छन् । जन्मजात, केटाकेटी उमेर र वयस्क उमेरमा लाग्ने मुटुरोग । जन्मनुभन्दा अघि नै पनि मुटु रोगको समस्या देखिन सक्छ । मुटुमा प्वाँल पर्ने, मुटुका नलीहरुको राम्ररी विकास नहुनेलगायतका जन्मजात मुटु रोग हुन् । यस्ता समस्या आमाको पेटमै हुँदा नै देखिन्छ । त्यस्तै पाँचदेखि पन्ध्र वर्षसम्मका बालबालिकालाई मुटुको बाथको समस्या देखिन सक्छ । मुटुको बाथको समस्याले मुटुका भल्वमा असर पार्छ र पछि मुटु नै बिग्रन सक्छ । वयस्क उमेरमा चाहिँ उच्च रक्तचाप, कोलेस्टे«रोल, मधुमेहजस्ता रोगका कारण मुटुमा रक्त प्रवाह रोकिने, मुटु कमजोर हुनेजस्ता समस्या देखिने गर्छन् ।

हिजो आज मस्तिष्कघात र हृदयघातबाट मृत्यु हुनेहरुको संख्या निक्कै बढेको छ । त्यसैले वैज्ञानिकहरुको खोज/अनुसन्धान पनि कसरी हृदयघात र मस्तिष्कघातबाट हुने मृत्युबाट जोगाउने र यी रोगहरुलाई कसरी नियन्त्रण गर्ने भन्नेमा केन्द्रित भइरहेको छ ।

रोग व्यवस्थापनको कुरा गर्दा रोग पत्ता लगाउने, रोगको उपचार गर्ने र रोगको रोकथाम गर्ने महत्वपूर्ण पक्ष हुन्छन् । हुन त सुरुमै आउनुपर्ने रोगको रोकथाम नै हो । आजका दिनमा रोगको निदान अर्थात् डाइग्नोसिसमा विज्ञान धेरै नै अघि बढिसकेको छ । रोगको सुरुका अवस्थाहरु पत्ता लगाउने धेरै उपाय, प्रविधि, प्रयोगशाला, परीक्षण विधिहरु पत्ता लागिसकेका छन् । यसमा धेरै अनुसन्धान भइसकेको र प्रविधि निक्कै अघि बढिसकेको अवस्था छ । मुटु रोगबारे पहिले—पहिले नबुझिएका कुराहरु अब स्पष्ट रुपमा बुझ्न सक्ने र रोगको निदान गर्न सक्ने अवस्था छ ।

उपचारमा पनि धेरै प्रभावकारी विधीहरु पत्ता लागिसकेका छन् । धेरै नै प्रभावकारी औषधिहरु छन् । त्यसैले विज्ञानले उपचारका क्षेत्रमा पनि ठूलो फड्को मारिसकेको छ । रोगको रोकथामतर्फ भने धेरै नै कम ध्यान पुगेको देखिन्छ । वास्तवममा महत्वपूर्ण भनेको रोगको रोकथाम हो ।

पछिल्लो समय सरकारले उपचारमा पनि धेरै लगानी गरिरहेको छ । तर, रोगको रोकथाममा खासै ध्यान दिइरहेको छैन । विश्व परिवेशमै हेर्ने हो भने पनि मुटु रोगको पहिचान र उपचारमा जति ध्यान गएको छ—रोकथामतर्फ त्यति छैन ।

मुटु रोगको रोकथामको कुरा गर्दा रोग लाग्ने सम्भावना छ छैन भन्ने कुरा पत्ता लगाउनु एउटा महत्वपूर्ण पक्ष हो । यसलाई रिक्सको विश्लेषण भनिन्छ । कस्ता व्यक्तिलाई रोग लाग्न सक्छ भन्ने सुरुमै पत्ता लगाउन सकिएमा, उसले अपनाउनुपर्ने सावधानी बेलैमा अपनाउन सक्छ ।

१. जेनिटिक/अनुवांशिक र अन्य जोखिमको विश्लेषण

मुटु रोगको जोखिम (रिक्स) को विश्लेषण गर्दा शरीरमा रोग लगाउन सक्ने जिनहरु छन् या छैन भनि पत्ता लगाउने कुरा महत्वपूर्ण छ । यदि व्यक्तिमा, रोग लगाउन सक्ने वंशाणुगत तत्व विद्यमान छ भने उसलाई रोग लाग्ने सम्भावना अरुको तुलनामा ५० प्रतिशतले बढी हुन्छ । हृदयघातको कुरा गर्दा मुटुको धमनीको रोग लाग्ने जिन कुनै व्यक्तिमा विद्यमान छ भने उसलाई रोग लाग्ने सम्भावना त्यस्तो जिन नभएका व्यक्तिको तुलनामा ५० प्रतिशतले बढी हुन्छ । त्यस्तै, प्रकारले रोगको अन्य जोखिमहरु जस्तै धुम्रपान, व्यायामको कमी, अस्वस्थकर खानपिन, मानसिक तनाव, उच्च रक्तचाप, कोलेस्ट्रेरोल मधुमेह आदि के कति छ भन्ने कुराले हृदयघात हुने सम्भावनाको निक्र्यौल गर्छ । जति धेरै जोखिम तत्व छन्, त्यति नै हृदयघात हुने सम्भावना बढी हुन्छ ।

यसप्रकार जोखिमहरु छ छैन, वंशाणुगत अवस्था छ छैन भनेर अध्ययन गर्दा मुटु रोग लाग्ने सम्भावना कत्तिको छ भनेर पत्ता लगाउन सकिन्छ । यसैमा अहिले केन्द्रित हुनुपर्छ भन्ने वैज्ञानिकहरुको धारणा छ । रोग लाग्ने सम्भावना भएकाहरुलाई रोगको खतरा पत्ता लगाइदिएर सुरुदेखि उपचार सुरु गर्नुपर्छ । यो रोग लागिसकेपछि वा वृद्ध भएपछि उपचार गर्ने होइन । १० वर्षको कलिलो उमेरकालाई हृदयघात कसरी होला र भनि सोच्ने गरिन्छ । तर, साना उमेरका बालबालिकादेखि नै मुटु रोगको रोकथामका लागि केही गर्नुपर्छ भन्ने मान्यता छ ।

२. स्वस्थ जीवनशैलीको प्रवर्धन

कस्तो खालको जीवनशैली अपनाउने भन्ने कुरा पनि धेरै महत्वपूर्ण छ । यदि कोलेस्ट्रोल बढी छ, मोटोपना छ र अरु जोखिमहरु प्नि छन् भने शारीरिक सक्रियता धेरै नै महत्वपूर्ण हुन्छ । धेरै अभ्यास गर्नुपनि पर्दैन । दैनिक ३० मिनेटको व्यायामले पुग्छ । साताको ५ दिनमात्र गर्न सकेपनि त्यसले जोखिम घटाउँछ र हृदयघातका सम्भावना कम हुन्छ भन्ने वैज्ञानिक प्रमाणहरु छन् ।

जीवनशैलीका ३ वटा पक्षहरु महत्वपूर्ण छन् । ती हुन् आहार, शारिरीक सक्रियता र विचार (मानसिक स्थिति) । मुटुमैत्री आहार (धेरै सागपात, फलफूल, गेडागुडी खाने, नून, चिनी, चिल्लो कम खाने, तयारी खाना र खराब चिल्लो नखाने, थोरै खाने) मुटुरोग रोकथामका लागि मात्र नभएर यसको महत्व रोगको उपचारका लागि पनि छ ।

दैनिक ३० मिनेटको व्यायामले मुटु रोगको रोकथाममा सधैं सहयोग पु¥याउँछ । अल्छी गर्नु हुँदैन । शरीरलाई जति धेरै सक्रिय राख्यो त्यति फाइदा छ । हिडी राख्ने वानीले स्वस्थ र दीर्घजीवी बनाउँछ ।

मानसिक तानाव मुक्ति र सकारात्मक सोच अर्को महत्वपूर्ण पक्ष हो । मुटु रोग रोकथामका लागि मानिसले सोच्ने तरिका बदल्नु पर्छ । सकारात्मक सोचाइ हुनुपर्छ, आक्रोशमा आउनु हुँदैन् । तनावमा बस्नु हुँदैन, जस्तोसुकै परिस्थितिमा पनि मानसिक सन्तुलन कायम गर्नुपर्छ । रिसाउने बानी त्याग्नु पर्छ, माया, सहयोग गर्ने बानी बसाल्नु पर्छ । दानी स्वभावको निर्माण गर्नुपर्छ । दान दिंदा मन हलुका हुन्छ, तनाव घट्छ । नाम कमाउने र दाम कमाउने होडबाजीमा लाग्नु हुँदैन । सन्तोषी बन्न सिक्नुपर्छ । यी सबै मानसिक सन्तुलन कायम गर्ने विधीहरु हुन् । मन सन्तुलित भए मुटु रोग लाग्ने सम्भावना कम हुन्छ ।

३. रोगको रोकथामका लागि औषधिको सेवन

औषधी खाने भनेको उपचारका लागि मात्रै होइन । रोग नलागेको अवस्थामा पनि कतिपय औषधिको सेवनले हृदयघात, मस्तिष्कघातजस्ता प्राणघातक रोगहरुको रोकथाम गर्न सक्छ । जस्तै रगत पातलो पार्ने एस्पीरिन चक्कीको सेवनले हृदयघात हुनबाट बचाउँछ, कोलेस्ट्रेरोल घटाउने औषधिले हृदयघात मस्तिष्कघात हुनबाट बचाउँछ ।

उच्च रक्तचापको औषधिले हृदयघात, मस्तिष्कघात, किड्नी फेल, आन्धोपना आदि हुनबाट बचाउँछ । बालबालिकाहरुलाई बारम्बार टन्सील बढ्ने र पाक्ने, घाँटी दुख्ने, ज्वरो आउनेजस्ता घाँटीको संक्रमण भएको बेलामा एण्टीवायोटिक औषधि पूरा मात्रामा खाने गर्नुपर्छ । यसो गर्दा घाँटीको संक्रमण मात्र ठीक हुने होइन कि टन्सिलका कारण लाग्ने बाथ, मुटुरोगको रोकथाम समेत हुन्छ । यो धेरै नै महत्वपूर्ण कुरा हो ।

५ देखि ७ दिनको एण्टीवायोटिक औषधिले बालबालिकालाई लाग्ने खतरनाक बाथ मुटुरोगबाट बचाउन सक्छ । यसकारण जोखिमको विश्लेषण गरी जोखिम भएकाहरुले चिकित्सकको सल्लाह लिएर मुटु रोगको रोकथामका लागि औषधिको सेवन गर्दा धेरै फाइदा छ । औषधि सेवनको साथमा स्वस्थ जीवनशैली अवलम्बन गर्ने कार्य पनि जारी राख्नु पर्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ