जनकपुर—प्रदेश २ मा थप ३१ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पीसीआर परीक्षणमा सिरहा, बारा र रौतहटका २६ जना र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परिक्षणमा एक बालकसहित ५ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा ४ जना महिला र २६ जना पुरुष रहेका नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले बताए । उनका अनुसार थपिएका संक्रमितमध्ये बाराका ३ जना र रौतहटका २३ जना रहेका छन् ।
रौतहट गरुडास्थित राष्ट्रिय वाणिज्य बैंकका ४ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ भने गुरुडाकै सिभिल बैंकका ४ जना कर्मचारी पनि संक्रमित भएका छन् । सशस्त्र प्रहरी हजमिनियाका दुई जना र गरुडा इलाका प्रहरी कार्यालयमा एक जना संक्रमित थपिएका छन् ।
माधवनारायण नगरपालिका– ३ र वडा ४ मा एक/एक जनामा कोरोना देखिएको छ भने चन्द्रपुर नगरपालिका– ६ मा एक जनामा कोरोना पुष्टि भएको छ ।
गरुडा नगरपालिकाको विभिन्न वडामा ९ जना संक्रमित थपिएका छन् । बारामा थपिएका संक्रमितमध्ये प्रसौनी गाउँपालिका २ का १ जना, जितपुर सिमरा उपमहानगरपालिका वडा न. १२ का १ जना र वडा न. ४ का १ जना रहेका छन् ।
त्यस्तै, सिरहाको लहान नगरपालिका ७ का एक जना बालिक सहित ४ जना र वडा न.१ का ३७ वर्षिया १ महिलामा संक्रमण पुष्टि भएका छन् ।