काठमाडौं-नेपालमा कोरोना संक्रमण पुष्टि भएको आठ महिना भएको छ । यस बीचमा ३ सय ३६ जनाको मृत्यु भएको छ । हालसम्म ५३ हजार १ सय २० संक्रमित भएका छन् भने ३७ हजार ५ सय २४ निको भएर घर फर्केका छन् ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १५ हजार २ सय ६० जना आइसोलेसनमा रहेका छन् । सबैभन्दा बढी कोरोनाबाट मृत्यु हुनेमा ४९ जना काठमाडौं र ४३ जना पर्साका छन् ।
पर्सामा साउन पहिलो साता मात्रै १२ जनाको मृत्यु भएको थियो । देशभर शनिबार १४ जनाको मृत्यु हुँदा पर्साका एक जनाको मृत्यु भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।
साउन पहिलो सातादेखि तराईका जिल्लामा कोरोना संक्रमण तीब्र रुपमा बढेको वीरगन्जस्थित गण्डक कोभिड अस्पतालका संयोजक डा.उदय सिंह बताउँछन् । दोस्रो चरणमा कोरोना देखा परेको पर्सामा तीब्र गतिमा कोरोना फैलिएको थियो । तराईलगायत प्रदेश नम्बर पाँच र अन्य केही जिल्लाहरुमा पनि लक्षणसहितका केसहरु बढ्न थालेपछि चिकित्सक चिन्तित बनेका थिए । तर, जोखिम मोलेरै भएपनि चिकित्सकहरुले संक्रमण नियन्त्रण बाहिर जान दिएनन् ।
कोरोना संक्रमणको ’हटस्पट’ बनेको वीरगन्जमा हाल सामान्य अवस्थातर्फ अघि बढेको छ । डा. सिंह बिरामी राख्ने ठाउँ नभएर उपचारमा समस्या आएको तराई अहिले अस्पतालहरु खाली हुँदै जान थालेको बताउँछन् । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारी पनि तराईका जिल्लामा संक्रमण घट्दो क्रममा रहेको बताउँछन् । तर, सुरुवातमा देखिएका जिल्लाबाहेक अन्यमा भने बढ्दो क्रममा छ ।
पर्सा, बारा, महोत्तरी, रौतहट, सप्तरी, सर्लाही, अर्घाखाँची, बर्दिया, बाँके, अछाम, कञ्चनपुर, झापा, कपिलवस्तुलगायतका जिल्लाहरु कोरोनाको ‘हटस्पट’को रुपमा थिए । तर, यी जिल्लाहरुमा हाल कोरोना संक्रमण घट्दो क्रममा छ । तर, मोरङ, नवलपरासीपूर्व, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवनमा भने बढ्दो क्रममा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमण शुन्य भएका जिल्लाहरु सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु, हुम्ला छन् । संखुवासभा, भोजपुर, धनकुटालगायत पहाडी केही जिल्लामा भने संक्रमण देखिन थालेको छ । शुन्य संक्रमण भएको संखुवासभामा ७८ जना पुगेका छन् भने भोजपुरमा पनि २४ जना पुगेका छन् ।
डाक्टर सिंहले तराईमा कोरोना संक्रमण हाल ओरोला लाग्ने क्रममा रहेको बताए । ‘साउन पहिलो सातादेखि तराई त्यसमा पनि पर्सामा तीब्र रुपमा केस बढेको थियो,’ डा सिंहले भने, ‘त्यही बीचमा धेरैले ज्यान गुमाए भदौको दोस्रो सातासम्म संक्रमितको संख्या बढिरह्यो । तर, दोस्रो सातापछि संक्रमितको संख्या निरन्तर ओरालो लागिरहेको छ ।’
प्रदेश नम्बर दुईमा मात्रै कोरोना संक्रमणबाट १ सय ११ जनाले ज्यान गुमाएका छन् । साउन पहिलो सातादेखि भदौको दोस्रो सातासम्म तराईका अस्पतालहरुमा आईसीयु र भेन्टिलेटरमा जानेहरुको संख्या पनि ह्वात्तै बढेको थियो । तर, हाल न्यून मात्रै सघन उपचार कक्षमा भएको डा. सिहंले बताए । दुई हप्ता अघि औसतमा दैनिक ५० जनाभन्दा बढी संक्रमित हुने गरेको पर्सामा हाल औसत १० भन्दा मुनि छ ।
डा सिंहले भने, ‘पर्सामा दोस्रो चरणमा संक्रमण देखिदा लक्षणसहित तीब्र रुपमा फैलियो । यसले चिकित्सकलाई निकै चिन्तित बनाएको थियो । तर, यहाँका जनताले मापदण्डको पूर्णरुपमा पालना गर्दा जुन अपेक्षा थियो । त्यो अनुसारको क्षति हुन पाएन ।’ लक्षण सहितका बिरामीलाई केही समस्या पारेपनि अहिले पुनः लक्षणबिहिन बिरामीहरु मात्रै देखा परिरहेको डा. सिंह बताउँछन् ।
कोभिड रोक्न आवश्यक पर्ने सबै मापदण्ड लागु गरेर चाडो कोरोना नियन्त्रणमा लिन सकेको उनी बताउँछन् । तराईका जिल्लामा अहिले क्लोज कन्ट्याक ट्रेसिङको काम तीब्र रुपमा अघि बढाइएको छ । तराईमा देखिएको पछिल्लो संक्रमणको दैनिक तथ्यांकले सकारात्मक सन्देश दिएको छ । यदि यो केस घटेन भनेपनि लक्षण भएकाहरु छैनन् विगतमा जस्तो आतिनुपर्ने अवस्था रहँदैन् ।
संक्रमितको संख्या सकिएपछि वीरगन्ज हेल्थ केयर खाली भएको छ । त्यहाँका चिकित्सकहरुले बिरामी सकिएपछि आपसमा खुसी साटेका छन् । उनका अनुसार खचाखच भरिएका अन्य अस्पतालहरु अहिले खाली हुन थालेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सर्लाहीमा मात्रै ५०० बढी संक्रमित अस्पतालमा छन् । अन्य जिल्लामा ३५० जनाभन्दा कम छन् ।