बुटवल—प्रदेशकै पुरानो र ठूलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना आइसोलेसन शाखामा आईसीयु सुविधासहितको बेड अभाव देखिएको छ । जसका कारण आईसीयुमा राखेर उपचार गर्नुपर्ने कोभिड—१९ का बिरामीलाई अस्पतालले रेफर गर्न थालेको छ ।
कोभिड—१९ का बिरामीहरुका दिन प्रतिदिन बढ्दै जान थालेपछि र लक्षणसहितका बिरामी अस्पतालमा आउन थालेपछि आईसीयुसहितको बेड अभाव भएको हो । आईसीयुयक्त सुविधामा उपचार गर्नुपर्ने बिरामीलाई अन्यत्र रेफर गर्दा ज्यान जोखिममा पर्ने खतरासमेत बढ्दै गएको छ ।
हाल बुटवलको धागो कारखानामा रहेको आइसोलेसन शाखामा जम्मा १७ वटा आईसीयुयुक्त बेड छन् । ती सबै यसअघि नै भरिएकाले अन्य बिरामी राख्न सक्ने अवस्था नरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल बताउँछन् । ‘हामी जाति सक्दो व्यवस्थापन गरेकै छौं । हामीसँग भएको क्षमता यत्ति हो । थप गर्न हामी माथिल्लो निकायमा अनुरोध गरेका छौं,’ उनले भने ।
जसलाई आईसीयु बेड पुगेन !
अत्याधिक ज्वरो आएपछि स्थानीय मेडिकलमा उपचार गर्दा टाइफाइड भएको भनी औषधी खाँदै आएका एक बाग्लुङका पुरुषमा कोरोना संक्रमण देखियो । अवस्था यस्तो थियो कि उनलाई आईसीयुमा राख्नुपर्ने थियो तर बेड अभाव भन्दै अस्पतालले रेफर ग¥यो ।
बुधबार अन्य अस्पतालहरुमा खुम्दाखुम्दै लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना त लियो तर पोजेटिभ देखिएपछि बेड अभाव भयो । बुधबार राति बुटवल आइपुगेका ती पुरुषलाई त्यहाँबाट मेडिटेक अस्पताल बुटवल, क्रिमसन अस्पताल मणिग्राम हुँदै करिब १ बजे लुम्बिनी प्रादेशिक अस्पतालमा आएर भर्ना भएका थिए ।
उनको रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसन शाखामै उपचार गर्नुपर्ने र शाखामा आईसीयु अभाव रहेकोले सुविधा भएको अस्पतालमा रेफर गरिएको डा. खनालले बताए ।