मोरङ कोनेपोखरी गाउँपालिका– ५ की गर्भवती महिला मंगलवार राती शौचालयमा लडेर घाइते भइन् । घाइते भएकी २३ वर्षीया सविना थापा (दर्जी) को स्वास्थ्य अवस्था बिग्रँदै गएपछि परिवारले उनलाई बुधबार विराटनगरको अस्पताल ल्याए । तर, सविनालाई कोरोनाका त्रासका कारण विराटनगरका कुनैपनि अस्पतालले भर्ना लिएनन् ।
सविनालाई नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, विराट नर्सिङ होम, ग्रीनक्रस, सुरक्षा र कोशी अस्पताल लगायतले उपचार गर्न नमानेपछि बिहीबार बिहान सविनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो । प्रतिष्ठानमा उपचार सुरु गरेको केही समयमै सविनाको मृत्यु भयो ।
यस्तै, समयमा उपचार नपाउँदा मोरङको पथरीशनिश्चरे नगरपालिका–२ की ६२ वर्षीया सानकुमारी राईको ११ भदौमा ज्यान गयो । एक्कासी पिसाब बन्द भएपछि एम्बुलेन्समा १० भदौमा रातभर झापा र मोरङका सातवटा अस्पताल डुलाउँदा डुलाउँदै उनले मृत्युवरण गरिन् । कोरोना रिपोर्ट नेगेटिभ आएको प्रमाण खोज्दै निजी अस्पतालले भर्ना लिन नमानेपछि अन्तिम अवस्थामा कोशी अस्पताल पु¥याएर भर्ना गरिएको एक घण्टा बित्न नपाउँदै उनको मृत्यु भयो । उनको कोरोना जाँच गर्दा रिपोर्ट पनि नेगेटिभ आयो ।
यसैगरि पथरीकी सानकुमारीको मृत्यु भएको दुई दिनपछि उदयपुर चौदण्डीगढी नगरपालिका ६ की ६५ वर्षिय डम्बरकुमारी बस्नेतको १३ भदौ साँझ खाना खाने क्रममा भात सड्केर सिकिस्त भइन् । तत्काल उपचारको लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पुराइयो । स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि थप उपचारको लागि विराटनगर लैजान रिफर गरियो । परिवारका सदस्यले राती नै डम्बरकुमारीलाई विराटनगरको अस्पताल ल्याए । विराटनगरका अस्पतालले भर्ना लिन नमानेपछि १४ भदौमा डम्बरकुमारीको उपचार अभावमा मृत्यु भयो ।
६ भदौमा सुनसरीको कोशी गाउँपालिका २ का वडाअध्यक्ष हिरालाल यादवको पनि समयमै उपचार नपाएका कारण मृत्यु भयो । घरमै हृदयाघात भएपछि परिवारले धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगे । तर अस्पतालले भर्ना लिएन । त्यहाँबाट बिर्तामोडको बी एण्ड सी अस्पताल लगियो । त्यहाँ पनि उपचार भएन । अन्ततः अस्पताल डुलाउँदा डुलाउँदै उनको ज्यान गयो । अस्पतालले भर्ना लिएको र समयमै उपचार पाएको भए यादव बच्ने सम्भावना रहेको भन्दै परिवारले गुनासो गरेका छन् ।
माथिका ४ वटा प्रतिनिधी घटनाले समयमै उपचारको अभाव र अस्पतालको लापरवाहीका कारण बिरामीहरुले ज्यान गुमाइरहेका छन् भन्ने प्रष्ट हुन्छ । प्रदेश १ को राजधानी विराटनगरका ठूला अस्पतालले नै कोराना भाइरसको संक्रमणको कारण देखाउँदै बिरामी भर्ना नलिदा उपचार अभावमा ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । यसरी समयमा उपचार नपाउँदा स्वास्थ्यमा विभिन्न समस्या भएर उपचारका लागि अस्पताल आएकाहरु अस्पतालले उपचार गर्न ठाडै अस्वीकार गर्दा दर्जी, राई र बस्नेतजस्तै धेरैले अकालमा ज्यान गुमाइरहेका छन् ।
मृत्यु हुनेमा कोरोना संक्रमण भने देखिएको छैन । कोरोना नलागेका अन्य बिरामीले भने अस्पताल भर्ना हुनै नपाई उपचारको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्था छ ।
अस्पतालको चरम लापरवाही
विराटनगरका अस्पतालमा उपचार गर्न जाने बिरामीले पहुँच र पावर नै देखाउनुपर्ने तथा पावर नहुनेले त्यत्तिकै ज्यान गुमाउनु पर्ने अवस्था बनेको मृतक गर्भवतीकी श्रीमान भरत दर्जी बताउँछन् । ‘कोरोनाको जोखिम देखाउँदै निजी हस्पिटलले अहिले बिरामी लिन छाडेको छ,’ उनले भने, ‘बिरामी ल्याउने बित्तिकै अस्पतालले भर्ना नलिँदा मृत्युवरण गर्नुपरेको छ ।’
विराटनगरका अस्पतालले भर्ना लिन नमानेकै कारण ७ महिनाकी गर्भवती श्रीमतीको मृत्यु भएको भन्दै भरतले दोषीलाई कार्वाहीको माग राखेका छन् । लडेर घाइते भएकी श्रीमतीलाई कोरोनाको बहानामा उपचार गर्न नमान्नु ज्यादती र चरम लापर्वाही भएको उनको आक्रोश छ ।
‘कोरोनाका नाममा समयमा उपचार नपाएर सर्वसाधारणले ज्यान गुमाइरहँदा राज्यले पनि त्यस्ता स्वास्थ्य संस्थालाई कारवाहीको दायरामा ल्याएको देखिँदैन,’ उनले भने, ‘कुनै नयाँ बिरामी ल्याउँदा सुरक्षा उपाय अपनाएर उपचार गर्नु पर्नेमा अस्पतालहरु त्यत्तिकै पन्छिएको देखिन्छ ।’ बिरामीको उपचार नगर्नेलाई कारवाहीको चेतावनी दिने सरकार उपचार नपाएर मृत्यु हुँदासम्म पनि चुप लागेर बसिदिँदा अस्पतालको मनोमानी बढेको मृतकका आफन्तको गुनासो छ ।
जनस्वास्थ्य ऐन अनुसार कारवाही हुन्छः प्रजिअ निरौला
मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बिरामीको उपचार नगरि फिर्ता पठाउने अस्पताललाई जनस्वास्थ्य ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाइने बताए । ‘बिरामीले उपचार नपाएर मृत्यु भएको खबर सार्वजनिक भएपछि विराटनगरका निजी हस्पिटलका सञ्चालक र चिकित्सकसँग हामीले छलफल गरेका थियौं,’ उनले भने, ‘भर्ना नगरेर तथा उपचार नपाएर बिरामीको मृत्यु हुने अवस्था आउन नदिने भन्ने विषयमा प्रतिवद्धता भएको थियो ।’
यसरी बिरामी फिर्ता पठाएर ज्यान गुमाएको हामीकहाँ उजुरी आएमा जनस्वास्थ्य ऐन–२०७५ का अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाउने उनले बताए । ‘यदि उपलब्ध स्रोत साधनले उपचार सम्भव नभएमा सुविधा भएको अर्को अस्पतालसँग समन्वय गरेर बिरामी रेफर गर्न सकिन्छ,’ उनले भने, ‘अस्पताललाई बिरामी नफर्काउन हामीले भनेका थियाँै । अब पनि त्यही क्रम दोहो¥याए कारवाही हुन्छ ।’ बिरामीको उपचार गर्दिनँ भनेर पन्छिन नपाउने कुरा कानुनमै स्पष्ट रहेको उनको भनाइ छ ।
जनस्वास्थ्य ऐन २०७५ मा स्वास्थ्य उपचारमा नियमित, सहज, सर्वसुलभ, प्रभावकारी, गुणस्तरीय र नागरिकको पहुँच स्थापित गर्ने कुरा उल्लेख छ । ऐनले आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार सुरक्षित गरेको बताउँदै प्रजिअ निरौलाले उपचारमा आनाकानी गर्नेमाथि ऐनअनुसार तत्काल कारवाही अघि बढाइने बताए । ‘उपलब्ध सबै सेवा दिइसकेपछि बिरामीलाई उपलब्ध नभएको सेवाका लागि मात्रै अर्को अस्पतालसँग समन्वय गरेर रेफर गर्नुपर्ने कानुनी व्यवस्था छ,’ निरौलाले भने, ‘बिरामीको उपचारमा लापरवाही गर्ने अस्पतालहरुलाई यो वा त्यो बहानामा अब उन्मुक्ती दिन सकिँदैन ।’