२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा जारी लकडाउनको ‘मोडालिटी’मा फेरबदल, के खुल्छन् के खुल्दैनन् ?

रुपन्देहीमा जारी लकडाउनको ‘मोडालिटी’मा फेरबदल, के खुल्छन् के खुल्दैनन् ?


बुटवल—रुपन्देहीमा जारी लकडाउनको ‘मोडालिटी’मा केही फेरबदल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शनिबार जारी गरेको नयाँ मेडालिटीसहितको आदेशले आइतबारदेखि बजार केही खुकुलो हुने भएको छ ।

नयाँ मोडालिटी अनुसार निश्चित समय तोकेर बजारहरु खुलाइनेछ । यद्यपि स्वास्थ्य सुरक्षा मापदण्ड भने अवलम्वन गर्नुपर्नेछ ।

दैनिक उपभोग्य वस्तुका लागि विहान र साँझ तथा व्यापार व्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाउने गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार आदेश जारी गरेको छ ।

के-के खुल्नेछन् ?

दैनिक उपभोग्य वस्तुका लागि पसलहरु विहान र बेलुका खुल्ने भएका छन् । खाद्यान्न तथा तरकारी, दुधलगायत दैनिक उपभोग्य वस्तु किनबेचका लागि सुरक्षा मापदण्डसहित बिहान ९ बजेसम्म र बेलुका ५ बजेदेखि बेलुका ७ बजेसम्म पसलहरु खुल्न पाउनेछन् ।

आइतबारदेखि बैंक तथा वित्तिय संस्थाहरु पनि संचालनमा आउनेछन् । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भिडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा दिनसक्ने गरी प्रशासनले आदेश जारी गरेको छ ।

नयाँ मोडालिटीमा व्यापार व्यवसाय समेत संचालन हुनेगरी व्यवस्थापन गरिने भएको छ । व्यापार व्यवसायलाई बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ । सरकारी कार्यालयहरु पनि भिडभाड नहुने व्यवस्था मिलाएर सेवा प्रवाहको गरिनेछ । ती कार्यालयहरुमा सुरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालनालाई अनिवार्य गरिएको छ ।

जिल्लामा अत्यावश्यकीय औषधी, खाद्यवस्तु, इन्धन, ग्याँस, तरकारी, फलफूल, दुध, विद्युत, सूचना सञ्चार, कार्यालय आउने जानेका गाडीलगायतका क्षेत्रका गाडी पनि संचालन हुने भएका छन् ।

गर्न नपाइने कार्य

पूर्वघोषित सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटी पार्लर, समूहमा खेलिने खेलकुद, पूस्तकालय, संग्रहालय, स्पा, स्विमिङ पुल, मनोरञ्जनस्थलहरु बन्द रहनेछन् ।

प्रशासनले उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरित श्रमिक तथा कामदार ओसारपसार गर्नमा रोक लगाएको छ ।

विभिन्न नाका प्रयोग गरेर गैरकानुनी रुपमा आउन जानमा रोक लगाइएको छ । सरकारले अनुमति दिएका बाहेक कुनैपनि गाडी चलाउन पाइने छैन ।
नयाँ मोडालिटी २८ गते राति १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ