विराटनगर– प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएसँगै एक हजार शैयाको आइसोलेसन बन्ने भएको छ । प्रदेश १ सरकारले कोरोना संक्रमित राखेर उपचार गर्नका लागि विराटनगरमा एक हजार शैयाको आइसोलेसन बनाउने निर्णय गरेको हो ।
प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको छ । सिसिएमसिको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र यथाशिघ्र निर्माण गर्ने गरी कम अगाडी बढाउने जानकारी गराए ।
प्रदेशभित्र हालसम्म आइसोलेसनको प्रयोगको अवस्थासहित विस्तृत विवरण तयार गर्न सम्बन्धित मन्त्रालयलाई मुख्यमन्त्री राईले निर्देशन दिए । आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । आइसोलेसन स्थानीय पालिका, निजी क्षेत्र लगायतसँग समन्वय र साझेदारीमा सञ्चालन हुनेछ ।
बैठकले प्रदेशभित्र लकडाउन, निषेधाज्ञा, कर्फ्युलाई क्रमशः हटाउँदै जाने, संक्रमण देखिएको स्थानमामात्र सिल गरी कोभिड–१९ को चेन ब्रेक गर्ने र कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार, स्थानीय तह एवम् स्थानीय प्रशासनसँग समन्वयात्तमक रुपमा अगाडी बढ्ने नीति लिएको मुख्यमन्त्री राईको भनाई छ ।
बैठकले भारतबाट स्थलमार्ग हुँदै आउने नेपालीहरुको लागि तोकिएको प्रवेश विन्दुहरुका अतिरिक्त पशुपतिनगर इलाम, रंगेली मोरङ्ग, टांगनडुवा झापा, गौरीगन्ज झापा र भन्टावारी सुनसरीलाई थप प्रवेश विन्दु (नाका) कायम गर्ने निर्णय समेत गरेको छ ।
भोजपुर नगरपालिका ६ स्थित देउरालीमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा २५ बेडको आइसोलेसन वार्ड सञ्चालन एवं उदयपुरको नेत्र ज्योति संघद्धारा निर्माण गरिएको मदन भण्डारी आँखा अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्न उदयपुर अस्पताललाई अनुमति दिएको छ ।
बैठकले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि विशेष सचेतना अभियान,२०७७ लाई स्वीकृत गर्ने र कार्यान्वयनको जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई प्रदान गर्ने निर्णय गरेको छ । तत्कालका लागि यो अभियान झापा, मोरङ र सुनसरी जिल्लामा लागू हुनेछ ।