बुटवल– कोभिड–१९ को महामारीलाई लक्षित गरी बुटवलमा खाद्य बैंक सञ्चालनमा आएको छ । लायन्स क्लव अफ बेलवास सिटीले बुटवलको बेलवासमा खाद्य बैंक सञ्चालनमा ल्याएको हो ।
कोभिड–१९ को महामारीका कारण कोहिपनि मानिस भोको रहन नपरोस् भन्ने उद्देश्यले बेलवास चोकमा खाद्य बैंक सञ्चालनमा ल्याइएको क्लबका अध्यक्ष लक्ष्मण खड्काले बताए ।
‘हुनेले दिएर जानु हुनेछ, नहुनेले लिएर जानु हुनेछ । यही मर्म अनुसार खाद्य बैंक सञ्चालनमा ल्याएका हाँै,’ उनले भने । पहिलो चरणमा सेनिटाइजर, मास्क तथा राहत वितरण गरेको क्लवले दोस्रो चरणमा खाद्य बैंक सञ्चालनमा ल्याएको हो । सामाजिक सेवाभावले नै काम गर्न सुरु गरिएको क्लवका उपाध्यक्ष तथा खाद्य बैंक सञ्चालक समितिका संयोजक गोविन्द खनालले बताए ।
उनका अनुसार हाललाई क्लवले नै खर्चको व्यवस्थापन गरी बैँक संचालनमा आएको छ । बैँकमा चामल, दाल, नुन, तेल, पिठोलगायतका सामग्रीको पोका तयार गरिएको छ । अतिआवश्यक हुनेहरुले पोका लैजान सक्ने उनले बताए ।
आइतवारबाट सञ्चालनमा ल्याइएको खाद्य बैँकले विपन्न बर्गलाई लक्षित गरी खाद्य सामग्री उपलव्ध गराउने क्लवका संस्थापक अध्यक्ष शिवलाल उपाध्यायले बताए । यद्यपि खाना अभाव हुनेहरुका लागि पनि बैँक सहयागी हुने उनको भनाई छ ।