काठमाडौं—सरकारले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षणको मोडालिटी समेत परिवर्तन गर्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले कुल परीक्षणको २० प्रतिशत पोजेटिभ पुष्टि हुन थाले लक्षण नभएकाहरुको पिसिआर परीक्षण नगर्ने नीति अघि सार्ने तयारी गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्यालले त्यस्तो बेला सबैको परीक्षण गर्दा राज्यले धान्न नसक्ने बताए । ‘राज्यसँग बजेट सकिएको छ । हामीले दैनिक परीक्षण गर्दा कुल परीक्षण संख्याको २० प्रतिशत पोजेटिभ देखिएको अवस्थामा लक्षण भएकाहरुको मात्रै पिसिआर परीक्षण गर्छौ,’ उनले भने ।
मुलुकभर ३५ हजार बढी संक्रमित पुगिसकेका छन् । दैनिक पिसिआर परीक्षणको दायरा बढ्दै गएको छ । पछिल्लो समय दैनिक पिसिआर परीक्षण १३ हजारसम्म हुन थालेको छ । स्वास्थ्य मन्त्रालयले अहिले दैनिक परीक्षणको पोजेटिभ संख्या २ प्रतिशतदेखि ३ प्रतिशतसम्म भएकाले परीक्षणको दायरा फराकिलो बनाउन आवश्यक नभएको बताएको छ । ५ प्रतिशत पुगे परीक्षण केही संख्यामा बढाउने योजनामा मन्त्रालय छ ।
‘५ प्रतिशत पुगेमा अहिलेको भन्दा केही बढाउँछौं । १० प्रतिशत पुगेको खण्डमा थप वृद्धि गर्ने र त्यसभन्दा उकालो लागे परीक्षणलाई व्यापक बनाउनेछौं,’ सचिव अर्यालले भने । तर, २० प्रतिशत पोजेटिभ पुष्टि हुन थालेपनि भने लक्षण नहुनेलाई छाडिनेछ । यस्तो अवस्थामा उनीहरु आफै घरमा सुरक्षित हुनुपर्नेछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार ८० प्रतिशतमा लक्षण नदेखिने अर्थात सामान्य अवस्थाका हुन्छन् । २० प्रतिशतमा मात्रै लक्षण देखिने तर त्यसमा पनि ५ प्रतिशत निकै गम्भीर अवस्थामा पुग्ने अनुमान गरेको छ ।