काठमाडौं—काठमाडौं उपत्यकामा २३२ सहित थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण देखिएको हो ।
काठमाडौंमा उपत्यकाका २३२ मध्ये काठमाडौंका १९९ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरका १९ जना र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको छ ।
मंगलबार ८५५ नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
अहिलेसम्म कोरोना निको भएर १९ हजार १ सय १९ जना घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् ।
अहिले नेपालमा १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंकी ७१ वर्षीया महिला, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष, काठमाडौंका ७४ र ६६ वर्षीय दुई पुरुष रहेका छन् ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ जना पुगेको छ ।