विश्वमा दिन प्रतिदिन कोरोना संक्रमित दर बढ्दो क्रममा छ । नेपालमा पनि यसको संक्रमण र मृत्युदरको संख्या दिनानुदिन उकालो लाग्दै गएको छ । कोरोनाको उच्च जोखिममा विशेषगरी दीर्घरोगका बिरामीहरु रहेका छन् । जसमध्ये मिर्गौला रोगका बिरामीहरु पनि एक हुन् ।
मिर्गौला सम्बन्धिको समस्याले व्यक्तिको रोग प्रतिरोध क्षमतालाई कम गराउने हुँदा त्यस्ता व्यक्तिलाई कोभिड मात्र नभई अन्य जुनसुकै रोग तथा संक्रमणले सजिलै हमला गरी व्यक्तिमा गम्भीर जोखिमलाई निम्त्याउँछ ।
अझ प्रस्ट रुपमा भन्ने हो भने यदि कुनै दुई कोरोना संक्रमितमध्ये एकजना सामान्य व्यक्ति र अर्काे दोस्रो व्यक्ति मिर्गौला रोगको बिरामी रहेको छ भने तुलनात्मक रुपमा उक्त संक्रमणका कारण मिर्गौलाका दीर्घ समस्या भएको व्यक्तिलाई यसले द्रुत गतिमा असर गर्ने, व्यक्तिको स्वास्थ्यलाई स्वस्थ व्यक्तिको तुलनामा बढी क्षति पु¥याउने वा ज्यानैसम्म जानसक्ने भयको सिर्जना गराउँछ । त्यसैले पनि व्यक्तिले आफूलाई यस्ता समस्याको शिकार हुन नदिन आफ्नो मिर्गौलालाई स्वस्थ बनाई राख्न जरुरी छ ।
सामान्य अवस्थाका व्यक्तिले निम्न गतिविधिबाट मिर्गौला स्वस्थ बनाउन सक्छन्ः
- प्रशस्त मात्रामा पानी पिउने
- माछामासुको कम खाने
- धुम्रपान तथा सूर्तिजन्य सेवनबाट टाढै रहने
- जथाभावी औषधिको प्रयोग नगर्ने
- सन्तुलित आहारको सेवन गर्ने
- नियमित व्यायाम गर्ने
- र, नियमित स्वास्थ्य परीक्षण गराउने
यस्ता गतिविधिमा ध्यान पु¥याएमा कुनै पनि सामान्य व्यक्तिले आफ्नो किड्नीलाई स्वस्थ राख्न सक्छन् । तर, यसबाहेक केहि यस्ता समूहहरु पनि छन्, जो दीर्घ मिर्गौला रोगबाट पीडित भएका हुन्छन् ।
कोभिड—१९ संक्रमणले शरीरको प्रतिरोध क्षमतालाई कमजोर बनाउने हुँदा, यस्ता समूह अन्यको तुलनामा उच्च जोखिमको दायरामा पर्छन् । जसअन्तर्गत डायलाइसिस गराइरहेका, लामो समयसम्म मिर्गौला समस्याका कारण औषधि लिइरहेका वा मिर्गौला प्रत्यारोपण भएर औषधि सेवन गरिराखेका आदि समूहहरु पर्छन् ।
यस्ता समूहले कोरोना महामारीको यस समयमा जोखिमलाई कम गराउन ध्यान दिनुपर्ने मुख्य पक्षहरु निम्न छन् :
- जोखिम कम गराउन विश्व स्वास्थ्य संगठन वा विभिन्न स्वास्थ्य संस्थाले दिएको सावधानीका मापदण्डलाई विशेष रुपमा अनुशरण गर्ने । जस्तोः मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने, समय–समयमा साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्ने आदि ।
- डायलाइसिस गराउने बिरामीले आफ्नो डायलाइसिस उपचारलाई निरन्तरता दिने
- चिकित्सकको सल्लाहअनुसार खाना खाने
- घरभित्रै छत वा बगैंचामा ध्यान, योगा तथा १५/२० मिनेटसम्म मात्रै हल्का हिडेर शरीरलाई सक्रिय राख्ने
- वैकल्पिक औषधिको प्रयोग नगर्ने
- चिकित्सकको सुझावअनुरुप नियमित औषधिको सेवन गर्ने
- डायलाइसिसका लागि स्वास्थ्य संस्था आवतजावत गर्दा सकेसम्म निजी वा एउटै साधनको प्रयोग गर्ने अथवा उच्च सर्तकता अपनाइएका सवारी साधनको मात्रै प्रयोग गर्ने र मास्कको प्रयोग अनिवार्य रुपमा गर्ने
- जथाभावी नछुने र भिडभाडमा नजाने
- रुघाखोकी लागेका व्यक्ति, बिरामी, वृद्धवृद्धाको समूह तथा कोरोना शंकाको घेरामा भएका समूहबाट टाढै रहने
- स्वास्थ्य सम्बन्धि आफूलाई केही समस्या परेमा सकेसम्म टेलिफोनकै माध्यमबाट चिकित्सकको सल्लाह लिने वा चिकित्सककै सल्लाहमा मात्रै अस्पताल जाने ।
प्रस्तुतीः सृजना मगर ।