काठमाडाैं-कोरोना परीक्षणका नाममा निजी अस्पतालहरुले ठगेको गुनासो आइरहेका बेला सरकारको मातहतमा रहेको एक अस्पताले समेत तोकेकोभन्दा बढी रकम लिएको पाइएको छ । सरकारले एक पटक पिसिआर परीक्षण गराएको ५५०० रुपैयाँ शुल्क तोकेको छ ।
तर, शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकले फार्मेसीसँग मिलेर परीक्षणका लागि अस्पतालमा पुग्ने व्यक्तिसँग तोकेकोभन्दा ३७५ रुपैयाँ अतिरिक्त शुल्क लिएको पाइएको हो । काठमाडौंका एक युवक प्रवेश आचार्यले कोभिड—१९ जाँच गर्दा अतिरिक्त रकम तिराएको बताए ।
सरकारी अस्पतालमध्ये पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा सरकारले तोकेको शुल्कमा आफूखुसी कोरोना परीक्षण गराउन सकिन्छ । तर, सरकारले तोकेको भन्दा एक रुपैयाँ पनि बढी तिनु कालोबजारी ठहरिने मन्त्रालयका अधिकारीहरु बताउँछन् । शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकले नजिकैको ‘पानोर्मा मेडिकल हल’ सँग मिली भिटिएम किन्न लगाउने गरेको खुलेको हो ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सरदर दैनिक १ सयको संख्यामा अस्पतालले स्वाब संकलन गर्दै आएको छ । प्रतिव्यक्ति भिटिएम बापत चिकित्सकले ३७५ रुपैयाँका दरले कम्तिमा पनि दैनिक ३७ हजार बढी अतिरिक्त शुल्क लिदै आएको छ ।
शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. रोहित पोखरेलले यस्तो गैरकानुनी काम हुनै नसक्ने बताए । ‘हामीलाई सरकारले ५ हजार ५ सय रुपैयाँ प्रतिव्यक्ति लिनु भनेको छ । त्यो रकम भनेको सम्बन्धित व्यक्तिको स्वाब कलेक्सनदेखि रिपोर्ट दिदासम्मको सबै खर्च हो,’ उनले भने ।
उनले भिटिएमको नाममा छुट्ट्रै पैसा तिराउनु आश्चर्यको विषय भएको बताए । ‘मलाई लाग्छ त्यस्तो पक्कै भएको छैन । तर, बिलै भएपछि मैले नबुझी आधिकारिक बोल्न मिलेन तोकेकोभन्दा बढी रकम पिसिआर परीक्षणका नाममा उठाउन भने कसैलाई छुट छैन ।’