काठमाडौं–राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी कानुन विपरीत काठमाडौं विश्वविद्यालयको परीक्षकको रुपमा नेपाल मेडिकल कलेज (एनएमसी)का विद्यार्थीको परीक्षा लिन गएको खुलेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको अर्थोपेडिक डिपार्टमेन्टको हैसियतमा केयुको एमएस अर्थोपेडिक विषयको अन्तिम वर्षको परीक्षा (प्राक्टिकल/क्लिनिकल/भाइवा) लिन उनी एनएमसी गएका हुन् । उनले सो मेडिकल कलेजमा अध्ययनरत एक जना विद्यार्थीको साउन १५ र १६ गते दुई दिन लगाएर परीक्षा लिएका थिए ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा २४ को उपदफा २ मा आयोगको उपाध्यक्ष नियुक्त भएपछि शिक्षण संस्था वा अन्य कुनै सेवाको बहालवाला व्यक्ति वा पदाधिकारीको वहाल अगाडि रहेको पदवाट निज स्वतः पदमुक्त हुने उल्लेख छ । तर, डा. गिरीले उपाध्यक्ष नियुक्त हुनुअघिकै संस्थाको विशेषज्ञका आधारमा केयुको परीक्षक भएर परीक्षा लिन गएको पाइएको छ ।
आयोगको उपाध्यक्ष भएपछि अन्य काममा सामेल हुन नपाउनुपर्नेमा परीक्षा लिन गएको विषयमा डा. गिरीसँग सम्पर्क गर्दा उनले ऐनले प्राज्ञिक कामका लागि नरोकेको जवाफ फर्काए । ‘म परीक्षा लिन गएको हो,’ उनले हेल्थ आवाजसँग भने, ‘ऐनले एकेडेमिक कामका लागि नरोकेको हुँदा गएको हुँ ।’