विराटनगर—कोशी अस्पतालको आइसोलेसनमा बिहीबार साँझ मृत्यु भएका विराटनगरका एक जना युवाको दुई खाले पिसिआर रिपोर्ट आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गराएको पहिलो परीक्षणमा रिपोर्ट नेभेटिभ र दोस्रो पोजेटिभ आएको हो ।
दोस्रो रिपोर्टलाई मान्यता दिइने भएकोले कोशीमा मृत्यु भएका ती युवाको कोरोनाकै कारण भएको अस्पतालले जनाएको छ ।
श्वासप्रश्वास, उच्च ज्वरो र खोकीको बिरामी भएर अस्पताल भर्ना भएका ती पुरूषमा कोरोनासँग मिल्ने लक्षण देखिएको थियो । उपचारको क्रममा उनको बिहीबार ४ बजे मृत्यु भएको थियो । मृत्यु भएको पुरूषको पिसिआर परीक्षण गर्दा बिहीबार राति पहिलो रिपोर्ट नेगेटिभ आएको थियो ।
‘कोरोनासँग मिल्दोजुल्दो लक्षण थियो, रिपोर्ट नेगेटिभ आएपछि हामी पनि अचम्मा प¥यौं,’ अस्पतालका प्रवक्ता तथा आइसोलेसन विभागका इन्चार्ज डा. लक्ष्मीनारायण यादवले भने, ‘बिरामीका आफन्त र कुरूवासँग सल्लाह गरेपछि हामीले र पुनः स्वाब संकलन गरेर परीक्षण गर्न बिहीबार राति प्रयोगशाला पठायौं । शुक्रबार बिहान ७ बजे प्राप्त भएको दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखियो ।’
स्वाब संकलन र परीक्षणमा बढी परिश्रम गर्नु परे पनि रिपोर्ट पोजेटिभ आएकाले कोरोना अन्यत्र फैलन सक्ने ठूलो खतरा टरेको उनले बताए । कोरोनाका कारण मृत्यु भएका पुरुषको शव परिवारलाई नदिइकन व्यवस्थापनका लागि मोरङको थलहा ब्यारेकबाट खटिने नेपाली सेनाको विशेष टोलीलाई बुझाउने तयारी गरेको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
यता प्रदेश जनस्वास्थ्य प्रयोगशला ल्याबमा सूचना अधिकारी प्रकाश कार्कीले स्वाब संकलनमा प्राविधिक त्रुटि भएकोले दोस्रो पटक पुनः स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताए ।
३० वर्षीय ती पुरुषको मृत्यु भएसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । यसअघि मृत्यु हुनेमा विराटनगर–९ का दुई, ३, ५ र १० वडाका एक÷एक जना पुरुष छन् ।