२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलकडाउनका विषयमा विज्ञका सुझाव बाझिएपछि प्रधानमन्त्री ओलीले भने ‘सोचेर निर्णय लिन्छु’

लकडाउनका विषयमा विज्ञका सुझाव बाझिएपछि प्रधानमन्त्री ओलीले भने ‘सोचेर निर्णय लिन्छु’


काठमाडौं– लकडाउन खुलेयता नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि स्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन गर्ने कि नगर्ने भन्ने विषयमा मिश्रित सुझाव दिएका छन् । कोरोना संक्रमणको जोखिम कम कसरी गर्न सकिन्छ भन्ने विषयमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको स्वास्थ्य विज्ञहरुबीचको छलफलमा विज्ञहरुले ठोस सुझाव दिन सकेनन् ।

छलफलमा हरेक विज्ञबाट फरक फरक खालका सुझाव प्रधानमन्त्रीलाई आएको छलफलमा सहभागि नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए ।

छलफलका क्रममा कसैले कोरोना संक्रमित बढिरहेकाले कम्तिमा २ हप्ता कडा खालको लकडाउन गर्ने सुझाव दिए भने कसैले अब लकडाउनको विकल्प खोज्नुपर्ने सुझाव दिएका थिए । यस्तै कतिपय विज्ञले हटस्पट क्षेत्रमा कडाई गर्ने र सीमामा हेल्थ डेस्कलाई अझै सक्रिय बनाउने, काठमाडौं उपत्यकामा प्रवेश गर्नेले अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने जस्ता सुझाव प्रधानमन्त्रीलाई दिएका छन् ।

यसैगरी छलफलमा सहभागि डा. रविन्द्र पाण्डेले केही समयका लागि कफ्र्यु लगाउन समेत सुझाव दिएका थिए । मेडिकल एशोसियनका अध्यक्ष डा. कार्कीले स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाएको र उनीहरुको सुरक्षाको प्रबन्ध दह्रो बनाउनु पर्ने सुझाव दिएका थिए । त्यसैगरी संक्रमित स्वास्थ्यकर्मीहरु बढिरहेकाले बेग्लै अस्पताल तोकिनुपर्ने सुझाव दिएको कार्कीले बताए ।

सो विज्ञसमूहसँगको बैठकमा आमन्त्रण गरिएका पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको स्वास्थ्यलाई पैसासँग दाँज्न नहुने भन्दै राज्यले गर्नुपर्ने विकल्पजति सबै गर्न सुझाव दिएका थिए । त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले लकडाउनलाई व्यवस्थित बनाउनुपर्ने र लकडाउनका कारण मारमा परेका जनतालाई राज्यले भरणपोषण  गर्नुपर्ने सुझाव दिएका थिए ।

छलफलमा मिश्रित सुझाव आउनु स्वभाविक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सुझावलाई अध्ययन गरेर निर्णय लिने बताएका थिए ।

छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रतिदिन १८ हजार जनासम्मको पिसीआर परीक्षण गर्न सक्नेगरी ल्याब स्थापना गरिएको र हालसम्म ४ लाख जनाको परीक्षण गरिएको रिपोर्ट प्रस्तुत गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ