दाङ–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. सागर पन्थी कोभिड—१९ आशंकित बिरामी राखिएको आइसोलेसनको राउण्डमा थिए । विषयगत विधामा उनी हाडजोर्नीका चिकित्सक हुन् । तर, निर्देशकको हैसियतले नियमित आइसोलेसन वार्डमा राउण्ड लिइरहँदा एक जना कोभिड—१९ आशंकित बिरामीको अक्सिजन लिन सक्ने क्षमता (स्याचुरेसन) एकदमै कम देखियो । हाडजोर्नीकै चिकित्सक भएतापनि चिकित्सकका हिसाबले व्यक्तिगत सुरक्षा कवच लगाएर ती बिरामीको धड्कन नापे, अक्सिजन चढाइदिने, अन्य औषधि दिएर कार्यकक्ष फर्किए ।
२४ जेठ । शनिबार घटना हो ।
त्यही दिन बेलुका चार बजे प्रयोगशालाबाट उनले बिहान हेरेका बिरामीको रिपोर्ट कोरोना पोजेटिभ आएको खबर आयो । ज्वरो आउने र श्वास फर्न गाह्रो भएका कारण ती बिरामीलाई आइसोलेसनमा राखिएको थियो । सो खबर आउनसाथ प्रतिष्ठानमै काम गर्ने दन्त चिकित्सक श्रीमतीलाई फोन गरेर आफू क्वारेन्टाइनमा बस्ने खवर गरे । १४ महिनाको सानो बच्चा भएका कारण पनि उनी आफैले क्वारेन्टाइन बस्ने निर्णय गरेका थिए ।
क्वारेनटाइनमा बसेको ५ दिनका दिन उनले स्वाब परीक्षण गर्न पठाए । रिपोर्ट पोजेटीभ आयो । ‘म मानसिक रुपमा प्रिपियर भएर बसेको थिएँ,’ हेल्थ आवाजसँग उनले भने, ‘किनकी म उहाँ मात्र होइन्, धेरै बिरामीसँग नजिक रहेर काम गरेको थिएँ ।’ सो दिन प्रतिष्ठानका निर्देशक डा. पन्थीसहित अन्य चार जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको थियो । आफूसँगै अन्य मातहतका कर्मचारी पनि संक्रमित भएका कारण उनीहरुलाई हौसला दिन पनि आफू मोडल बन्नुपर्ने दबाब उनलाई थियो । ‘उच्च सर्तकता अपनाउँदै काम गरिरहेका थियौ,’ उनी भन्छन्, ‘फ्रन्टलाइनर भएका कारण जुनसुकै समयमा पनि संक्रमण हुनसक्छ भन्नेमा पहिल्यैदेखि मानसिक रुपमा तयार भएर काम गरिरहेको थिएँ ।’
५ दिन क्वारेन्टाइनमा बसेपछि कोरोना पुष्टि भएका डा. पन्थी थप १४ दिन आफ्नै नेतृत्वमा बनेको अस्पतालको आइसोलेसनमा बसे । यी १४ दिनमा कोरोनाको कुनै पनि लक्षण देखिएन् । बाहिर जति निर्धक्क देखिएतापनि क्वारेन्टाइन छिर्दै गर्दा भित्रभित्रै अलिकति आफै आतिएको जस्तो अनुभव भएको बताउँछन् । ‘बाहिर जति नै दह्रो छु भनेतापनि सुरुमा अलिअलि आतिदो रहेछ,’ हेल्थआवाजसँग १४ दिने आइसोलेसन अनुभव साट्दै डा. पन्थी सुनाउँछन्, ‘नयाँ रोग, दैनिक नयाँ— नयाँ अध्ययन—अनुसन्धानले फरक तथ्य दिइरहेका कारण त्यो हुनु स्वभाविक नै हुने रहेछ ।’ बिरामीसँग काम गर्दा र आफैलाई कोभिड—१९ हुँदा केही फरक महसुस हुने उनको बुझाइ छ । अझ लामो समय एउटै कोठामा बस्नु पर्दा बोर भने भएको उनको सुनाए । तर, उनी दुई हप्ता आइसोलेसनमा बसेपछि निको भइहाल्छ भन्ने कुरामा ढुक्क थिए ।
श्रीमती पनि चिकित्सक नै भएको कारण उनको परिवारले पनि सामान्य लियो । प्रतिष्ठानका उपकुलपति, डिन, रजिष्ट्रार, अन्य सहकर्मी चिकित्सक अस्पतालका कर्मचारी सबैले उनलाई हौसला नै दिने तरिकाले कुरा गरे । सर—सहयोग पनि त्यही किसिमको पाए । अस्पतालको दैनिक काम कार्वाहीमा पनि उनले कुनै बाधा हुन दिएनन् । ‘दैनिक जुम मिटिङबाट नियमित काम गर्थे,’ उनी भन्छन्, ‘त्यो बेला सबैजनाले साथ सहयोग र माया गरिदिनुभयो । साँच्चै नै त्यो बेला आफन्ती, साथीभाई र सहकर्मीको मायाको अति नै भोक हुँदोरहेछ ।’
कोरोना जित्न उच्च मनोबल प्रमुख सुत्र रहेकोे डा. पन्थीको बताउँछन् । कोरोना जितेर सामान्य दैनिकीमा फर्किएका निर्देशक डा. पन्थी अहिले पनि दैनिक १५ देखि १६ जना बिरामी हेरिरहेका छन् । नियमित काम सुरु भएको छ । १५ हजारभन्दा बढी मानिसको उनले नेतृत्व गरेको राप्ती प्रतिष्ठान अस्पतालको प्रयोगशालाबाट कोरोना परीक्षण भइसकेको छ । अस्पतालका सबै सेवा नियमिततातर्फ जान थालेका छन् ।
तर, चित्त दुखेको छ
डा. पन्थी आफूले कोरोना जित्न सबैको साथ सहयोगमा जति खुसी छन् । दुई वटा घटनाले भने उनको साह्रै चित्त दुखेको रहेछ । के हुन् त उनलाई चित्त दुखाउनुपर्ने कारण ? ‘पहिलो मलाई कोरोना पोजेटिभ हुनु १० दिनअघि मेरो गाडी बनाउने मिस्त्रीलाई घरबेटीले घरबाट निकालिदिएछन्,’ उनी समाजलाई प्रश्न गर्छन्, ‘उनको के दोष थियो र ?’
जब उनी कोरोना संक्रमित भए प्रदेश ५ मात्र नभएर राष्ट्रिय मिडियाले समेत अस्पताल निर्देशक कोरोना पोजेटिभ भनेर समचार छापे । एक चिकित्सक र सार्वजनिक जिम्मेवारी बोकेको हिसावले समाचार आउनुलाई उनले सामान्य ठाने । जब समाचार दाङमा भाइरल भयो, १० दिनअघि उनको गाडी बनाउने मिस्त्रीलाई घरबेटीले घरबाटै निकालिदिए ।
गाडी बिग्रिएपछि १० दिनअघि मिस्त्री कहाँ पुगेका थिए, उनी । दाङमा गाडीको पार्ट नपाएपछि तिनै मिस्त्रीले काठमाडौं लगेर गाडी बनाएर ल्याइदिका थिए । ‘मेरो गाडी बनाएर ल्याइदिएको भन्दै उनका घरबेटीले उनलाई निकालेछन्,’ उनले सुनाए, ‘न म त्यो गाडीमा उनीसँग गएको थिएँ, न त मसँगै नियमित सम्पर्कमा आउने व्यक्ति हुन् ।’
कोरोना संक्रमणमुक्त भएपछि डा. पन्थी काठमाडौं गएका थिए । प्रतिष्ठानकै काममा काठमाडौंमा रहेका बेला एउटा भिआईपी मिटिङमा सहभागी भएका थिए । एक भिआईपी सांसदले उनलाई कोरोना संक्रमित इंगित गरेपछि सहभागी अन्यले गर्दै आएको व्यवहारमा एक्कासी परिवर्तन भयो । त्यो घटनाले झन आफूलाई मर्माहत बनाएको उनी बताउँछन् । उनी यी दुई घटनालाई कोरोना संक्रमितलाई समाजले हेर्ने दृष्टिकोणको प्रतिविम्बको रुपमा लिन्छन् ।