विराटनगर—कोशी अस्पतालमा कार्यरत एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि पोष्टनेटल वार्ड (सुत्केरी भएपछि राखिने वार्ड) सिल गरिएको छ । आइतबार रातिदेखि कोशीकोे पोस्टनेटल वार्ड सिल गरी संक्रमित नर्सको सम्पर्कमा रहेकाहरूको स्वाब संकलनको तयारी गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
संक्रमित देखिएको नर्स विराट नर्सिङ होममा पनि आंशिक रुपमा कार्यरत थिइन् । विराट नर्सिङ होमको संचालकसमेत रहेका डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना पुष्टि भएपछि संक्रमित देखिएकी नर्ससहित अस्पतालका कार्यरत स्वास्थ्यकर्मीहरूको स्वाब संकलन गरिएको थियो ।
आइतबार साँझ कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको अस्पतलाको मेसु दासले जानकारी दिए । संक्रमित देखिएको नर्स कोशी अस्पतालकी ‘पोस्टनेटल वार्ड’मा कार्यरत हुन् ।
वार्ड सिल गरेपछि कन्ट्रयाक ट्रेसिङमार्फत उनको सम्पर्कमा रहेकाहरूको स्वाब संकलन गर्ने तयारी सुरू गरिएको मेसु दास जानकारी दिए । उनको अनुसार उक्त वार्डमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र बिरामीको स्वाब संकलन गरिने जानकारी दिए । ‘अहिले कन्ट्रयाक ट्रेसिङ गर्न सुरू भएको छ,’ उनले भने, ‘सम्पर्कमा देखिएका सम्पूर्णको स्वाब संकलन गरिनेछ ।’ नर्स एक दिन अस्पतालको आएको बताइएको छ ।
डाक्टरमा पनि कोरोना
कोशी अस्पतालका एक जना चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरी घर भएका चिकित्सकलाई गत शनिबार कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमण देखिएको चिाकित्सक अस्पतालमा काम भने सुरू गरेका थिएनन् । सप्तरी घरबाट आएलगतै ज्वरो आउन थालेपछि स्वाब संलकन भएको थियो ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । संक्रमित चिकित्सक कोशी अस्पतालको कोभिड—१९ उपचार केन्द्रमा अहिले उपचार भइरहेको छ ।